विराटनगर । नेटवर्किङ व्यवसाय गरी सर्वसाधारणलाई ठगी गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको मिक्लाजुङ १ की ससिता राई, सुन्दरहरैंचा ७ का सञ्जीव माझी, ग्रामथान ३ का विक्रम माझी, कटहरी ६ का पंकजकुमार साह र अरुण मुडयारी तथा झापाको विर्तामो १० का पदम राईलाई प्रहरीले पक्राउ गरेको हो ।

हप्तामा १० देखि १२ हजारसम्म कमाइ हुने काम लगाइदिने भन्दै सदस्य बनाएर उनीहरुले ठगी गरेको पाइएको प्रहरीको भनाइ छ ।

सुनसरीको इटहरी उपमहानगर ९ का सजन राईको घरमा कोठा भाडामा लिएर ‘ग्लोबल ओरिएन्टस् नेपाला प्रा. लि.’ को नाममा कार्यालयमार्फत् यस्तो गतिविधि गरिएको थियो ।

आफूहरुसँग आवद्ध भए विभिन्न मुलुकको भ्रमण समेत गराइदिने भनेर उक्त समूहले लोभ्याउने गरेको थियो ।

त्यसरी ठगी गरिरहेको भन्ने सूचना पाएर प्रहरीले निगरानी गरेको थियो । त्यसै क्रममा प्रहरी टोलीले उक्त कार्यालयमा पुगेर उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी इटहरीका प्रवक्ता रहेका निरीक्षक भीमबहादुर खड्काले बताए ।

उक्त कार्यालयमा प्रयोग गरिएका कम्प्युटर, ल्यापटप, मोबाइल फोन, विभिन्न व्यक्तिका तस्बिरहरु, नागरिकतासहितको सम्झौतापत्र, बिल, छापलगायत चिज प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, ‘दार्जिलिङ, दुबइ, सिंगापुर, बैंकक टुर एचिभर’ लेखिएका ब्यानरहरु पनि प्रहरीले फेला पारेको थियो ।

सुनसरी जिल्ला अदालतबाट नेटवर्किङ ठगी मुद्दामा म्याद थप गराएर विस्तृत अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु