विराटनगर । नेकपा (एमाले)की केन्द्रीय सदस्य भगवती चौधरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रशासनले निष्पक्ष भूमिका खेल्नुपर्नेमा जोड दिएकी छन् ।

प्रशासनसँगै सञ्चारजगतले पनि निष्पक्ष भूमिका खेल्नुपर्ने आग्रह उनले गरेकी छन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सुनसरीको क्षेत्र नम्बर ३ बाट एमालेको एकल सिफारिसमा परेकी चौधरीले जालझेल र षड्यन्त्रका कारण यसअघि दुई पटकसम्म हार बेहोर्नु परेको गुनासो पोखिन् ।

कांग्रेसबाट उम्मेदवार बनेका विजयकुमार गच्छदारसँग यसअघिका दुईवटा निर्वाचनमा उनी पराजित भएकी थिइन् । यसपटकको निर्वाचनमा जालझेल र षड्यन्त्र हुन नदिन प्रशासनले निष्पक्ष भूमिका खेल्नुपर्ने उनले बताएकी हुन् ।

‘पहिलोपटक निर्वाचनमा भाग लिँदा त्यति तयारी थिएन । त्यही पनि जनताको साथ पाएकी थिएँ,’ संविधानसभा सदस्यसमेत रहेकी चौधरीले भनिन्, ‘दोस्रोपटक राम्रो तयारी गरेर निर्वाचनमा गएँ । तर जनताले भरपूर साथ दिए पनि जालझेल र षड्यन्त्रका कारण आफूअनुकूलको नतिजा निकाल्न सकिनँ ।’

आफूले अन्तिम युद्धका रूपमा लिएको यसपटकको निर्वाचनमा भने सबै जालझेल र षड्यन्त्र तोडेर चुनाव जित्ने गरी तयारी गरेको उनको भनाइ छ । उनले जालझेलले चुनाव जित्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिइन् ।

व्यक्तिगत लाभका लागि नभइकन निर्वाचन क्षेत्रको विकास गर्न र जनतालाई परिवर्तनको आभास गराउन आफू राजनीतिमा होमिएको चौधरीको भनाइ छ । निर्वाचन क्षेत्रको विकास गर्ने, जनस्तरलाई माथि उकास्ने र कृषिलाई प्राथमिकतामा राख्नेलगायत आफ्नो एजेन्डा रहेको उनले सुनाइन् ।

एउटै व्यक्ति ३० वर्षदेखि निरन्तर निर्वाचित हुँदा सुनसरी क्षेत्र नम्बर ३ को विकास निर्माणमा ठूलो अवरोध पुगिरहेको बताउँदै एमाले नेतृ चौधरीले यसपटक भने आफूलाई निर्वाचित गराउन मतदातासमक्ष आग्रह गरिन् ।

‘३० वर्षदेखि एकै जना व्यक्तिले चुनाव जितिरहेका छन् । तर विकास निर्माण ठप्प छ । हरेक हिसाबले जनता पछि परिरहेका छन्,’ गच्छदारप्रति लक्षित गर्दै उनले भनिन्, ‘पछिल्लो ५ वर्षमा त सुनसरी क्षेत्र नम्बर ३ को कुनै पनि आवाज संसदमा उठेन । मैले जितेपछि जनताका समस्या संसदमा पुर्याउने छु । ३० बर्से शासन तोड्दै विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउने छु ।’

२०७४ सालको निर्वाचनमा निर्वाचित बनेका गच्छदारलाई भ्रष्टाचारको मुद्दा लागेपछि उनी निलम्बित छन् । मुद्दा विचाराधीन छ । तर कांग्रेस नेता गच्छदार आगामी निर्वाचनमा पनि गठबन्धनको जोडबलमा यही क्षेत्रबाट उम्मेदवार बन्ने लगभग पक्कापक्की भएको स्रोतले बतायो । स्रोतका अनुसार यकिन हुन बाँकी रहे पनि एमालेबाट चौधरी नै उम्मेदवार हुने निश्चित नै छ ।

विराटनगरमा मंगलबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै चौधरीले सामाजिक क्षेत्रमा धेरै काम आफूले गरिसकेका कारण अब जनमत लिएर जनताको सेवा गर्ने इच्छा रहेको बताइन् । ‘मसँग विकासका थुप्रै ‘मोडल’ छन् । चुनाव जितेर गएपछि लागू गर्ने योजना छ,’ उनले भनिन्, ‘विकास निर्माणसँगै, कृषि र शिक्षामा जोड दिएर काम गर्ने छु । गरिबीबाट गुज्रिएका जनताको जीवनस्तर उकास्नतर्फ लाग्ने छु ।’

दिनेश प्रतिष्ठानबाट सामाजिक काम गरेको तथा निरन्तर आफू काम गर्न तयार भएकाले विकास र समृद्धिका लागि आफ्नो जित हुनुपर्ने चौधरीको भनाइ छ । लामो समयदेखिको सुनसरी ३ को ओरालो यात्रा टुंग्याउने र विकासको नयाँ बाटो खोल्ने प्रतिबद्धता उनको छ ।

निर्वाचनमा यसअघि अपनाइएको जालझेल तोड्न यसपटक आफूले युवा पंक्तिलाई साथमा लिएर जाने चौधरीले बताइन् । साथै भ्रष्टाचार रोक्न र सुशासनका लागि पनि आफूले सुनसरी ३ बाट नेतृत्व गर्न चाहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु