अचेल
यी आँखाले
कालो न सेतो–
छुट्याउँदैनन् कुनै रंगहरु
तर्कुलामा टाँगिएर जिब्रो
फट्कार्दैनन् कुनै शब्दहरु,
आरनको खलाँती जस्तै
तल माथि गर्ने
यो छातीभित्र
मुटु छ कि मादल छ?
मथिङ्गल नै रनभुल्ल छ!
साउँ अक्षर चिनाउँदा
चिच्याइ चिच्याइ पढेको
राम्रो ‘म’ कहाँ छ?
कता छु ‘म’?
‘म’ छु?
कि छुइन?
बुख्याँचा भइ उभ्याइनु
‘म’ हुनुको अर्थ हो?
कि भ्रम हो?
यी र यस्ता प्रश्नहरुसँगै
तिमी को हौ?
तिमी के हौ?
तिमी कहाँ छौ?
भन्दै सोधे पनि
फरक पर्दैन
पटक्कै फरक पर्दैन
किनकि,
मान्छेलाई हो फरक पर्ने
बुख्याँचालाई होइन
यहाँ मान्छे हराएको छ
मान्छे भित्रको–
‘म’ हराएको छ
हराएको छ ‘म’!!

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु