विराटनगर । २००७ सालको सशस्त्र क्रान्तिमा अग्रपंक्तिमा रहेर संघर्ष गरेका तोरन्द्रमान सिंह प्रधानले प्रजातन्त्र प्राप्तिका लागि लागि भएका आन्दोलनहरुमा महत्वपूर्ण योगदान गरे । प्रजातन्त्र बहालीका लागि उनले नेपाली कांग्रेसका संस्थापकमध्येका नेता विश्वेश्वरप्रसाद कोइरालासँग पनि साथमा रहेर काम गरेका थिए ।
प्रजातान्त्रिक लडाईंमा उनले गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहदेखि मनमोहन अधिकारीसँग समेत सहकार्य गरेका थिए । उनलाई नजिकबाट चिन्नेहरुका अनुसार अध्ययनशील र धेरै कुरामा जानकारी राख्ने, साहसी स्वभावका भएकाले वीपीका प्रिय थिए ।
२००७ सालमा राणा शासनविरुद्ध भएको सशस्त्र क्रान्तिमा प्रधान वीरगञ्ज कब्जा गर्ने टोलीको नेतृत्व पंक्तिमा उनी पनि थिए । उनीसहितको टोलीले वीरगञ्ज कब्जा गरेको थियो ।
उनी भारतको वनारसमा अध्ययन गर्दै गर्दा नेपालमा क्रान्ति सुरु भएको थियो । विद्यार्थी जीवनमै राजनीतिमा होमिएका प्रधान वनारसबाट जयनगर हुँदै विराटनगरसम्म आएका थिए ।
प्रजातन्त्रिक विचारमा आस्था राख्ने भएकाले उनले कांग्रेसका नेताहरुसँगै विभिन्न कालखण्डमा प्रजातन्त्र प्राप्तिको आन्दोलनमा अग्रपंक्तिमा बसेर काम गरेका थिए ।
तिनै प्रजातन्त्र सेनानी तथा समाजसेवी प्रधानको ९२ वर्षको उमेरमा सोमबार निधन भएको छ । लामो समयदेखि मुटु र श्वास–प्रश्वासको समस्या झेल्दै आएका विराटनगर–१० का उनको उपचारका क्रममा निधन भएको हो ।
प्रधानको विराटनगर–७ हाटखोलास्थित सिंघिया खोलामा रहेको विश्रान्ति धाममा मंगलबार अन्तिम दाहसंस्कार गरिएको छ । उनको पार्थिव शरीरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।
नेपाली काँग्रेसका नेता महेश आचार्य, केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली आचार्यलगायतले पार्टीको झण्डासमेत ओढाएर सम्मान गरे । प्रधानका श्रीमती र ३ जना छोरी छन् । प्रधानकी पत्नी इन्दिराले दागबत्ती दिएकी थिइन् ।
‘धेरैका असल अभिभावक थिए’
पुर्खौली घर काठमाडौं भएका प्रधान वि. सं. १९८७ मा दाङको कोइलाबासमा गजेन्द्रमानसिंह प्रधान र गणेशकुमारीका जेठा छोराका रुपमा जन्मिएका थिए ।
भारतसँगको नाकानजिक रहेको कोइलाबास त्यस बेलाको ठूलो व्यापारिक केन्द्र थियो । भारतबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेर फर्केका प्रधानसँग राजनीतिकबाहेक जलस्रोत, वातावतरणका साथै कोसी सम्झौताका बारेमा विशेष ज्ञान थियो ।
सामाजिक क्षेत्रमा पनि उनको नाम सम्मानका साथ लिइन्छ । समाजको हितका लागि गरिने कुनै पनि गतिविधिमा उनी सक्रियतापूर्वक सहभागी हुन्थे ।
ऋाफ्नो खेती भएको साविकको बवियाविर्ता हालको रंगेली नगरपालिका–१ जम्मु हाटखोलाका विपन्न परिवारलाई परिवारको सदस्यसरह व्यवहार गर्थे ।
खेती भएको क्षेत्रबाट बिरमी परेर वा अरु समस्या परेर विराटनगर आउँदा उनले सक्दो सहयोग गर्ने गरेको अन्तिम संस्कारमा सहभागी हुन आएका गाउँलेले बताए । बिरामीलाई उपचार गराइदिने अनि खान, बस्न सहयोग गर्ने उनको उदार मन थियो ।
अन्तिम संस्कारका बेला श्रद्धाञ्जली दिन उपस्थित बवियाविर्ताबाट आएका महिलाहरुले ‘बुवा गुमाएको’ प्रतिक्रिया दिएका थिए ।
‘हामीजस्ता जग्गा नभएकाहरु धेरै जनालाई निःशुल्क र केहीलाई थोरै पैसा लिएर जग्गा दिनुभएको थियो’ बवियाविर्ताकी कल्सर थारुले भनिन्, ‘मेरी छोरीलाई सानैमा विराटनगरमा ल्याएर पढाइ दिनुभयो ।
छोरीको विवाहमा आफ्नै बुवाले जस्तै कन्यादान दिएको उनले सम्झिन् । ‘जस्तो असल मान्छे पाउन गाह्रो छ’ उनले भनिन् । उनी प्रधानकै जग्गामा बस्दै आएकी थिइन् । जग्गा नभएकाले प्रधानले उनलाई बस्नका लागि १५ धुर जग्गा दिएका थिए ।
बवियाबिर्ताबाटै आएकी साहिली मुर्मुले प्रधानको निधनले गाउँ शोकमा डुबेको बताइन् । ‘गाउँका सबैलाई ठूलो पीर परेको छ’ उनले भनिन्, ‘जन्म दिने बुवाभन्दा पनि धेरै माया गर्नुहुन्थ्यो ।’
गाउँ जाँदा प्रधान उनीहरुसँगै बसेर खाना खाने गर्थे । उनको यस्तो बानीबाट पनि गाउँले मोहित बनेका थिए । कोही विराटनगर आए आफ्नो घरमा खाना खुवाउने गर्थे ।
प्रधानसँग निकट सम्बन्ध रहेका समाजसेवी श्याम पौडेलका अनुसार उनको युवा अवस्था विराटनगरमै बित्यो । ‘बनारस पढ्दापढ्दै २०७७ सालमा नेपालमा क्रान्तिको सुरुआत भयो,’ पौडेलले भने, ‘आन्दोलनका क्रममा वीपी कोइरालाको सामिप्यमा हुनुहुन्थ्यो, उहाँको योगदान उच्च छ ।’
निकै अध्ययनशील प्रधान धेरै विषयमा जानकारी राख्थे । त्यही भएर धेरै क्षेत्रका व्यक्तिहरु उनीबाट अनुभव र ज्ञानका कुरा पाउने आशा गर्थे ।
कहिल्यै लाभको पदप्रति आकर्षित नभएका उनी एक पटक ‘कोसी प्रोजेक्ट’ को अधिकृत बनेका थिए । त्यसबाहेक कुनै राजनैनिक वा लाभ हुने पदमा रहन नमानेको पौडेलले बताए ।
कांग्रेसमात्र होइन अरु दलका नेता पनि बेला बेला उनको घर आएर भेट्ने अनि सुझाव लिने गरेको पौडेलले सुनाए । पछिल्लो समय लेखमार्फत देशको अवस्थालाई रुचिका साथ लेख्ने गरेका थिए ।
वृक्षरोपण, जलस्रोत संरक्षण जस्ता क्षेत्रमा उनको रुचि भएकाले धेरैलाई संरक्षणका लागि उत्प्रेरित गरेका थिए । प्रधान नेवारी संस्कृति र भूगोलका ज्ञातासमेत थिए । विराटनगरका विभिन्न सामाजिक संघसंस्थाको संस्थापक नेतृत्वमा रहँदै आएका थिए ।
कांग्रेका नेता महेश आचार्यले विराटनगरले एकजना अभिभावक गुमाएको बताए । ‘एउटा अग्रज, चेतना भएको अभिभावकका रुपमा हामीले मानेका थियौं’ उनले भने, ‘महानगरको विकासको प्रारम्भदेखि नै उहाँको योगदान थियो ।’