विराटनगर । प्रजातान्त्रिक आन्दोलनमा पूर्वी पहाडी जिल्लाहरुको महत्वपूर्ण योगदान छ । २००७ साल यताका सबैजसो आन्दोलनहरुमा त्यहाँका बासिन्दाले गरेको संघर्ष अनुकरणीय मानिन्छ ।
राणा शासनविरुद्धको क्रान्ति होस् वा त्यस पछिका प्रजातान्त्रिक आन्दोलन, सधैं अगुवाका रुपमा ती जिल्लाले भूमिका निर्वाह गर्दै आएका छन् । क्रान्तिका साहसिक गतिविधि र आन्दोलनका संघर्षहरु अब इतिहास बनेका छन् ।
क्रान्तिका बेला २००७ सालमा भोजपुरपछि ओखलढुंगा कब्जा गर्दै प्रजातन्त्र सेनानीहरुले तत्कालीन राणा शासकका सेनालाई पराजित गरेका थिए ।
त्यसबेला दुई पटक आक्रमण गरी जिल्ला कब्जा गर्न सकेको इतिहास छ । सुरुमा मुगाधन राईको नेतृत्वमा अनि पछि रामप्रसाद राई, नारदमुनीलगायतले कब्जा गर्दाका संघर्ष नयाँ पुस्तालाई किंवदन्तीजस्तो लाग्न सक्छ ।
इतिहासका यस्ता गौरवमय घटनाक्रमहरुलाई एकीकृत रुपमा व्यवस्थित गरी दस्तावेज नहुँदा नयाँ पुस्तालाई जानकारी नहुनु स्वाभाविकै हो ।
अब भने ऐतिहासिक घटना अनि दस्तावेजहरुबारे विस्तृतमा जानकारी लिन सकिने भएको छ । यस्तो जानकारी दिने महत्वपूर्ण कृति तयार भएको छ ।
कृति हो– ‘ओखलढुंगाः तथ्य र इतिहास’ । यसलाई उर्जाशील पत्रकार कुम्भराज राईले पुस्तक तयार पारेका हुन् ।
पुस्तकमा पुराना दस्तावेजहरुको तस्बिर पनि समेटिएको छ । यसले गर्दा पुस्तक विश्वसनीय बनेको छ । मुख्य अध्यायका रुपमा २००७ सालमा भएको कब्जाको प्रसङ्ग छ । नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहले १८२९ तिर लेखेका पत्रहरु पनि छन् ।
पुस्तकको ‘राजनीति’ खण्डमा ऐतिहासिक कालखण्डअनुसार विभिन्न अध्यायमा विषयवस्तुलाई समेटिएको छ । ‘काजी भीम मल्ल र ओखलढुंगा’, ‘२००७ को ओखलढुंवगा क्रान्ति र मुगाधन राई’, ‘ओखलढुंगा कांग्रेसको विगत र वर्तमान’, ‘टिम्बुरबोटे काण्ड र कप्तान थापा’, एलबी गुरुङको टिम्बुरबोटे बयान’, ‘को थिए सातसल्लेमा मारिएका?’ र ‘ओखलढुंगा कम्युनिस्टको सारसंक्षेप’ जस्ता अध्यायमा विस्तृत अध्ययन र अनुसन्धान गरिएका सामग्री राखिएको छ ।
जिल्लाका ऐतिहासिक स्थलहरुका बारे पनि विस्तृतमा सामग्री तयार पारिएको छ । ओखलढुंगाका ऐतिहासिक गढी, मान्छे थुन्ने चौरासे घर, टक (पैसा) काट्ने विगु टक्सार, खरको छानोबाट सुरु भएको मिसन अस्पताल, दुई शताब्दी पुरानो नर्मदेश्वर मन्दिर एवं जिल्लाको पहिलो स्कुल पकलीबारे जानकारीमूलक सामग्री पुस्तकमा छ ।
ऐतिहासिक तथ्यहरुबारे प्रमाणका रुपमा विभिन्न दस्तावेज संकलन गरेर पुस्तकमा समेटिएको छ । तिनमा पृथ्वीनारायण शाहको पत्र, ५२ वर्ष अघिको रेडियो फर्माइस, राणाकालको हातकलमी र मानेभन्ज्याङका अन्तिम मुखिया कमलसिंहबारे दस्तावेजहरु संग्रहित छन् ।
पुस्तकलाई अझ विश्वसनीय र प्रामाणिक बनाउन जानकारहरुसँग अन्तवार्ता तथा अग्रजहरुबारे तयार पारिएका लेख पनि समावेश गरिएको छ ।
यो खण्डमा बिर्सिइँदै ज्ञानदिलदास, दिलराम लामिछाने, गौहर्क राई, महेश कोर्मोचा, मेघबहादुर श्रेष्ठ, सिंहराज गुरुङ, अगनसिंह राई, साहस र न्यायकी प्रतिमूर्ति डाटी शेर्पा, मेरी आमा मेलवादेवी– विमला दीक्षित, राजा महेन्द्रको पहिलो गुरुङसेनी रानी रम्बा गुरुङ (रानीसाहेब) र झोलुङ्गे पुलकी पहिलो महिला प्राविधिक– पूर्णकुमारी खड्का शीर्षकमा सामग्री प्रस्तुत गरिएको छ ।
२०० पेजको पुस्तकका ४१ हजार शब्दहरु मार्फत् ऐतिहासिक तथ्य जानकारी लिन सकिने छ । चार खण्डमा विभाजित पुस्तकमा २८ अध्याय छन् ।
सिद्धिचरण नगरपालिका १२ स्थित बाइलाइन मिडियाले प्रकाशन गरेको पुस्तकमा पुस्तक असोज ८ गते शनिबार लोकार्पण गरिने यसका लेखक/संकलन राईले बताए ।