विराटनगर । प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालका १० वटा अधिवेशनमा ३ सय १२ पटक बैठक बस्यो ।
नाम र स्थायी राजधानी तोक्ने जिम्मेवारी पाएको प्रदेशसभाले राजधानी तोक्यो, नामको विषयमा छलफलै चलाउन सकेन । ९३ प्रदेशसभा सदस्य रहेको प्रदेशसभाले ६३ वटा विधेयक पारित गर्यो ।
१० वटा अधिवेशनमा बसेका ३१२ वटा बैठकको शून्य समयमा सांसदहरुले ८ सय ८५ पटक बोले ।
विशेष समयमा ५६ पटक, दलको तर्फबाट ६५ पटक र विधेयक माथिको सैद्धान्तिक छलफलमा १ हजार ८२ पटक बोले ।
पहिलो संसदको पाँच वर्षे अवधिमा बैठकमा एमालेका सांसद विमल कार्कीले सबैभन्दा बढी ७७ पटक प्रदेशसभा बैठकमा बोलेका छन् । एमालेकै अर्का सांसद जगदिशप्रसाद कुसियतले सांसदको रुपमा बैठकमा एक पटक पनि बोलेनन् ।
प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाका १० जना सांसदले पाँच पटक पनि प्रदेशसभा बैठकमा बोलेका छैनन् ।
पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेशसभा बैठकमा सांसद हैसियतमा एक पटक मात्रै बोलेका छन् । उनले दसौं अधिवेशनमा एक पटक सैद्धान्तिक छलफलमा भाग लिएका हुन् ।
एकीकृत समाजवादी पार्टीका सांसद सांसद गणेश काङ्बाङले पनि एक पटक मात्रै बोलेका छन् । उनले पहिलो अधिवेशनको शून्य समयमा एक पटक बोलेका थिए ।
एमाले सांसद तेजमान कन्दङ्वाले दोस्रो रछैटौं अधिवेशनको शून्य समयमा जम्मा २ पटक बोलेका छन् । जीवन घिमिरेले, भीम आचार्यले, हिक्तम कार्की, गुलेफुन खातुन र हिमा बस्नेतले ३–३ पटक बोलेका छन् ।
पूर्वसामाजिक विकास मन्त्री घिमिरेले दसौं अधिवेशनमा एक पटक विशेष समय र २ पटक सैद्धान्तिक छलफलमा बोलेका छन् ।
६७ दिन प्रदेश १ को मुख्यमन्त्री बनेका भीम अचार्यले सांसदको रुपमा नवौं अधिवेशनमा विशेष समय लिएर एक पटक र दसौं अधिवेशनमा विशेष र सैद्धान्तिक छलफलमा १–१ पटक गरी जम्मा ३ पटक सम्बोधन गरेका छन् ।
हिक्मत कार्कीले सांसदको नवौं अधिवेशनमा दलको तर्फबाट एक पटक र दसौं अधिवेशनमा विशेष समय र सैद्धान्तिक छलफलमा एक–एक पटक बोलेका छन् ।
सरकारी सहीछाप किर्ते मुद्दामा दोषी देखिएपछि संसदको अधिकांश बैठकमा सहभागी नभएकी एमाले सांसद गुलेफुन खातुनले दोस्रो तेस्रो र चौथो अधिवेशनको शून्य समयमा १–१ पटक बोलेकी छन् ।
गुलेफुनले राजीनामा दिएपछि उनको स्थानमा नियुक्त सांसद हिमा बस्नेतले शून्य समय, विशेष समय र सैद्धान्तिक छलफलमाथि एक–एक पटक बोलकी छन् ।
टंक आङ्बुहाङले दलको तर्फबाट तेस्रो अधिवेशनमा एक पटक, चौथो अधिवेशनमा दलको तर्फबाट र विधेयकमाथिको सैद्धान्तिक छलफलमा १–१ पटक बोलेका छन् । त्यस्तै छैटौं अधिवेशनमा सैद्धान्तिक छलफलमा एक पटक सहभागी भएका छन् ।
जसले बोलिरहे
पहिलो संसदमा १० वटा अधिवेशनमा सबैभन्दा बढी एमाले सांसद विमल कार्कीले शून्य, विशेष र सैद्धान्तिक छलफलमा गरी ७७ पटक बैठकमा बोले ।
कार्कीले पहिलो अधिवेशनमा ६, दोस्रोमा १३, तेस्रोमा ९, चौथोमा १३, पाचौंमा ६ र छैटौंमा १२ पटक बोलेका छन् । आठौंमा ६, नवौंमा २ पटक बोलेका उनले दसौं अधिवेशनमा १० पटक बोलेका छन् ।
कार्की पछाडि धेरै बोल्ने सांसदको दोस्रो स्थानमा एमाले सांसद राजकुमार ओझा छन् । उनले ७१ पटक बोलका छन् ।
कांग्रेस सांसद सूयर्माराज राईले ६५ पटक बोल्दा माओवादी केन्द्रका सांसद मोहनकुमार खड्काले पनि ६५ पटक नै बोलेका छन् ।
जसपा सांसद जयराम यादवले ६४ पटक, कांग्रेस सांसद केदार कार्कीले ५९ पटक संसद बैठकमा बोल्दा एमाले सांसद अम्बिका थापाले ५६,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाङ्फोले ५० पटक बोलेकी छन् ।
कांग्रेस सांसद शिवनारायण गनगाईले ४९, लीला सुब्बाले ४७, प्रतापप्रकाश हाङ्गामले ४७, लोकप्रसाद संग्रौलाले ४६ र सञ्जाकुमारी दनुवारले ४४ पटक प्रदेशसभामा बोलेका छन् ।
माओवादी सांसद उमिता विश्वकर्माले ४६, कुलप्रसाद सुब्बाले ४१ पटक बोल्दा नेकपा एकीकृत समाजवादी पार्टीकी सांसद खिनुलङ्वा लिम्बूले प्रदेशसभामा ४० पटक बोलेकी छन् ।
पहिलो संसदमा १० वटा अधिवेशनमा बसेका ३१२ वटा बैठकमा १६ सांसदले ४० पटकभन्दा बढी बोलेका छन् । १५ जना सांसदले १० पटक पनि बोलेका छैनन् ।
पहिलो संसदबाट ६३ वटा विधेयक पारित भए । पाँच वर्षे अवधिमा शेरधन राई, भीम आचार्य र राजेन्द्र राई गरी मुख्यमन्त्री बने । ३० जना सांसद आलोपालो मन्त्री बने ।
प्रदेशमा २०७४ फागुन ३ गते शेरधन राई मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन नेकपा विभाजन भएपछि २०७८ भदौ १० गते राजीनामा दिए ।
सोही दिन एमाले नेता भीम आचार्य मुख्यमन्त्री नियुक्त भए । आचार्यले २०७८ कात्तिक १५ गते मुख्यमन्त्रीबाट राजीनामा दिए ।
२०७८ मंसिर १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट राजेन्द्र राई मुख्यमन्त्री नियुक्त भए ।