विराटनगर । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि प्रक्रिया सुरु भइसकेको छ । राजनीतिक दलहरुले दुबै सभाका लागि समानुपातिकतर्फका उम्मेदवारको नामावली बन्दसूचीका रुपमा निर्वाचन आयोगमा बुझाइसकेका छन् ।

मुलुकभरिका मतदाता संख्या १ करोड ७९ लाख ८ हजार ५७० जना कायम भएको आयोगले जनाएको छ। तीमध्ये महिलाको संख्या ८८ लाख ४७ हजार ५७९ छ भने पुरुषको संख्या ९१ लाख ४० हजार ८०६ छ । देशभर १० हजार ८९१ मतदान स्थल र २२ हजार २२६ जना मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

यस्तो छ प्रदेश १ को अवस्था

प्रतिनिधि सभाका लागि एउटा क्षेत्र रहेको ताप्लेजुङमा प्रदेशका दुई क्षेत्र छन् । त्यहाँको मतदाता संख्या ८८ हजार २८५ छ । मतदान स्थल ७५ वटा रहने छन् भने मतदान केन्द्र १२३ वटा राखिने भएको छ ।

पाँचथरमा पनि प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक र प्रदेश सभा दुईवटा छन् । जिल्लामा १ लाख ३८ हजार ९३२ जना मतदाता छन् । त्यहाँ मतदान स्थलको संख्या १०२ र मतदान केन्द्रको संख्या १७७ तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधि सभाका लागि दुईवटा क्षेत्र रहेको इलाममा प्रदेश सभाको क्षेत्र चारवटा छन् । २ लाख २४ हजार ८७७ मतदाता छन् भने १५० मतदान स्थल र २८५ मतदान केन्द्र रहने भएको छ ।

झापामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र पाँचवटा छन् । प्रदेश सभा निर्वाचन क्षेत्र १० वटा रहेको झापामा मतदाता ६ लाख ६३ हजार ३११ जना छन् । मतदान स्थल २८५ वटा रहने छन् भने मतदान केन्द्र ७६६ कायम हुने भएको छ ।

एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको संखुवासभा प्रदेश सभाका लागि दुईवटा क्षेत्र छन् । मतदाता संख्या १ लाख १७ हजार ५५४ रहेको उक्त जिल्लामा मतदान स्थल १०८ एवं मतदान केन्द्र १६२ वटा रहने छन् ।

तेह्रथुममा प्रतिनिधि सभा निर्वाचन क्षेत्र एउटा छ । दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा मतदाता संख्या ७१ हजार ९३३ छ । मतदान स्थल ५६ र मतदान केन्द्र ९३ वटा रहने छन् ।

यस्तै, भोजपुरमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक, प्रदेश सभा निर्वाचन क्षेत्र दुईवटा छन् । १ लाख २३ हजार ३७९ मतदाता रहेको भोजपुरमा मतदान स्थल संख्या ८७ तथा मतदान केन्द्र संख्या १५५ छ।

धनकुटामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र एउटा छ भने प्रदेश सभा निर्वाचन क्षेत्र दुईवटा छन् । उक्त जिल्लामा १ लाख १६ हजार ९९१ मतदाता छन् । मतदान स्थल ११९ एवं मतदान केन्द्र १६२ वटा रहने छन् ।

६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रदेश सभाका लागि १२ वटा क्षेत्र छन् ।
७ लाख ३५ हजार ५२५ मतदाता संख्या छ भने मतदान स्थल ३०६ एवं मतदान केन्द्र ८३९ रहने छन् ।

यसैगरी सुनसरीमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र चारवटा छन् । प्रदेश सभाको क्षेत्र आठ वटा रहेको सुनसरीमा ५ लाख ४४ हजार ९४१ मतदाता छन् । उक्त जिल्लाको मतदान स्थल संख्या १६६ हुनेछ भने मतदान केन्द्र ५९१ रहनेछन् ।

हिमाली जिल्ला सोलुखुम्बुमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र एउटा छ । प्रदेश सभाका लागि दुईजनाले प्रतिनिधित्व गर्नेछन् । ८१ ह्जार ५०२ मतदाताका लागि १२२ मतदान स्थल तथा १३५ मतदान केन्द्रको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रदेशका लागि दुईवटा क्षेत्र छ । त्यहाँको मतदाता संख्या १ लाख ४२ हजार ७९२ हो । मतदान स्थल १३६ वटा रहने खोटाङमा मतदान केन्द्र १९४ रहने छन् ।

ओखलढुंगामा पनि प्रतिनिधि सभातर्फ एउटा क्षेत्र छ भने प्रदेश सभाका लागि दुईवटा क्षेत्र छन् । मतदाता संख्या १ लखा १७ हजार ८९७ जना मतदाता रहेको उक्त जिल्लामा मतदान स्थल ८४ एवं मतदान केन्द्र १५३ रहने छन् ।

उदयपुरमा प्रतिनिधि सभाका लागि दुईवटा क्षेत्र छन् । प्रदेश सभाका लागि चारवटा क्षेत्र रहेको उदयपुरको मतदाता संख्या २ लाख २८ हजार ९४६ छ । त्यहाँ मतदान स्थल १०१ हुनेछन् भने मतदान केन्द्र २६४ रहने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु