विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य यसपटक पनि निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । यसअघि २०७४ मा वाम गठबन्धन हुँदा मोरङ क्षेत्र नम्बर ६ ‘क’ मा उनले प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए ।
त्यसबेला उनी पराजित भएका थिए । उक्त क्षेत्रबाट कांग्रेसका चुमनारायण तबदार विजयी बनेका थिए । मंसिर ४ गते हुने निर्वाचनका लागि उनले तयारी गरेका छन् । निर्वाचनको तयारीका क्रममा उनी क्षेत्र नम्बर ६ ‘क’ मा कार्यकर्ता भेटघाटमा सक्रिय बनेका छन् । माओवादी केन्द्रको क्षेत्रीय कमिटीले प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारमा आचार्यको नाम पहिलो नम्बरमा सिफारिस गरेको थियो ।
त्यस क्षेत्रमा उनीबाहेक प्रेस सेन्टर प्रदेश १ अध्यक्ष प्रभात घिमिरे (विनोद) र माओवादी केन्द्र सुन्दरहरैंचा नगर कमिटी अध्यक्ष दुश्यन्त भट्टराईको नाम पनि सिफारिस गरिएको छ । घिमिरे र भट्टराई माओवादी जनयुद्ध लडेका पूर्व लडाकु हुन् । त्यसबेला घिमिरे दुई वर्ष जेल बसेका थिए ।
आचार्य प्रचण्डकी कान्छी छोरी गंगाका श्रीमान् हुन् । ज्वाइँलाई प्रचण्डले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकबाट केन्द्रीय सदस्य मनोनित गरेका थिए । आचार्य प्रचण्डसँगै खुमलटारमा बस्दै आए पनि निर्वाचनका लागि सम्भावित निर्वाचन क्षेत्रमा उनको आउजाउ बाक्लिएको छ ।
सहमतिबाट नाम सिफारिस भएको भनिए पनि कतिपय नेता–कार्यकर्ता भने असन्तुष्ट देखिएका छन् । ‘उम्मेदवार सिफारिसमा जनयुद्ध लडेका कार्यकर्ता पनि परेका छन्,’ बुढीगंगा गाउँपालिकाका एक माओवादी नेताले भने, ‘टिकट पाउने प्रचण्डका ज्वाइँले नै हो ।’
‘ज्वाइँ भएर फाइदा लिन खोजेको होइन’
आचार्य भने आफू प्रचण्डको ज्वाइँ भएका कारण उम्मेदवार बन्न लागेको कुरालाई अस्वीकार गर्छन् । आफ्नो कुनै स्वार्थ नभएको भन्दै उनले चाहेको भए राजदूत बन्न सक्ने तर आफ्नै ठाउँ बनाउनुपर्छ भन्ने लागेर उक्त क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको बताउँछन् ।
उनका अनुसार क्षेत्र ‘क’ माओवादीलाई नै दिनुपर्छ भन्ने लगभग सहमति भइसकेको छ । स्रोतका अनुसार गठबन्धनमा सहमति गर्नुपर्ने अवस्थामा उक्त क्षेत्रमा सम्भव नभए उनी क्षेत्र ‘ख’ बाट पनि उम्मेदवार बन्न सक्नेछन् ।
आफ्नो क्षेत्रमा मेहनत र दुःख गरेको बताउने आचार्य धेरै जनताको काम गरेकाले त्यहाँको थारु समुदाय, उत्पीडित समुदायका लागि गरेको कामले आफ्नो दाबी रहेको बताउँछन् ।
अघिल्लो निर्वाचनमै आफूलाई जनताले जिताइसकेको तर ‘प्राविधिक हिसाबले हार भएको’ उनको भनाइ छ । ‘यसपटक जित्छु’ आचार्यले भने, ‘जीवन आचार्यले हार्दा विकासले हार्यो भन्ने कुरा जनतामा छ । प्रचण्डको ज्वाईं हुनु अभिसाप होइन । कोही न कोही मान्छे कसैको ज्वाईं हुन्छ ।’
सम्बन्धका हिसाबले फाइदा लिने हो भने समानुपातिकतर्फ उम्मेदवार बन्न सक्ने भन्दै आचार्यले सम्बन्धका आधारमा नभइ क्षेत्रमा दिएको योगदानका आधारमा पार्टीले मूल्याङ्कन गरेको दाबी गरे ।
‘ज्वाइँ भएर राडी ओछ्याएर बसेको छैन । घाममा दुःख गरेर किन खटिन्थें ? उनले भने, ‘म आफ्नो ठाउँ बनाउन चाहन्छु । विकास गर्न चाहन्छु । त्यही कारणले पनि जनताले मलाई जिताउँछन् । टिकट पक्कापक्की छ ।’
क्षेत्र ६ ‘ख’ बाट उम्मेदवार बन्ने भन्ने हल्लामात्र हो भने पनि उनले यसलाई पूर्ण रुपमा अस्वीकार भने गरेनन् । ‘क’ बाटै सिफारिसमा परे पनि पार्टी र गठबन्धनमा क्षेत्र फेर्ने निर्णय भयो भने मान्य हुने उनले बताए ।
थारु समुदायबहुल उक्त क्षेत्र २०७४ सालमा गठबन्धनका तर्फबाट एमालेका सत्यनारायण चौधरीलाई उम्मेदवार बनाउने तयारी गरिएको थियो । तर प्रचण्डकै जोडबलमा चौधरीलाई रोकेर आचार्यलाई गठबन्धनले उम्मेदवार बनाएको थियो ।
चौधरीलाई एमालेले मंसिर ४ गतेका लागि प्रदेशसभाको उम्मेदवार बनाउने तयारी गरेको छ । आचार्यलाई पराजित गरेका कांग्रेस नेता तथा प्रदेशसभा सदस्य तबदार पनि आकांक्षी हुन् ।
२०७४ मा बाम गठबन्धनबाट उम्मेदवार बनेका आचार्य कांग्रेस उम्मेदवार तबदारसँग २ हजार ४३ मतले पराजित भएका थिए । २३ हजार ५१३ मतसहित तबदार निर्वाचित हुँदा बाम गठबन्धनबाट उम्मेदवार बनेका आचार्यले २१ हजार ४ सय ७० मत पाएका थिए ।
क्षेत्र नम्बर ६ को प्रतिनिधिसभातर्फ गठबन्धनबाट कांग्रेस नेता शेखर कोइरालाले उम्मेदवार बन्ने तयारी गरेका छन् । त्यहाँ एमालेबाट लालबाबु पण्डितले उम्मेदवार बन्ने तयारी गरिरहेका छन् । क्षेत्र नम्बर ६ ‘ख’ मा उम्मेदवार बन्न कांग्रेसबाट केदार कार्की र एमालेबाट पर्शुराम बस्नेत प्रमुख दाबेदार हुन् ।