विराटनगर । झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीस्थित एउटा घरको बाथरुममा महिलाको शव फेला परेको छ ।
दमक नगरपालिका–८ की २९ वर्षीया टीकाकुमारी बुढाथोकी (तिम्सिना) को शव फेला परेको हो । झापा प्रहरीका प्रवक्ता डीएसपी वसन्त पाठकका अनुसार दमक घर भएकी टीका अर्जुनधारा–३ का श्याम कटुवालको घरमा डेरा बसेर मजदुरी गर्थिन् ।
त्यही घरको बाथरुममा शव फेला परेको प्रहरीले जनाएको छ । टीका नुहाउन भनेर दिउँसो १ः५० बजेतिर बाथरुम छिरेकी थिइन् । प्रहरीका अनुसार निकै बेरसम्म बाहिर ननिस्किएपछि साथीले बोलाएका थिए ।
भित्रबाट केही आवाज नआएपछि ढोका फोडेर हेर्दा टीका मृत फेला परेकी हुन् । शव पोस्टमार्टमका लागि अस्पताल पठाएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।