काठमाडौं। निर्वाचनको समयमा भ्रामक सूचना तथा अफवाह नियन्त्रण गर्न निर्वाचन आयोगले पहल सुरु गरेको छ । यसका लागि सामाजिक सञ्जालसँग सहकार्य गर्न थालिएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका बेला सामाजिक सञ्जालमार्फत मिथ्या र भ्रामक सूचना फैलिन सक्ने भन्दै यस्तो प्रयास थालिएको हो ।
आयोगले फेसबुक, टिकटक, युट्युबलगायत सामाजिक सञ्जालसँग सहकार्य गरेर त्यस्ता सूचना नियन्त्रण गर्ने जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यसअघिका चुनावमा पनि सामाजिक सञ्जालमार्फत भ्रामक सूचना सम्प्रेषण भएकाले त्यस्ता सूचना फैलिन नदिन यसपालि सामाजिक सञ्जालसँग सहकार्य सुरु गरिएको हो ।
फेसबुकले गत भदौ २२ गते ‘पोलिटिकल एड ट्रान्सपरेन्सी टुल’ सार्वजनिक गरेको थियो । यसमा नेपाललगायत २ सय ४२ वटा देश आबद्ध छन् ।
यो टुलमा जोडिएपछि फेसबुकमा राजनीतिक वा चुनावसँग सम्बन्धित प्रचार वा विज्ञापन गर्न फेसबुकको आधिकारिकता प्रक्रिया पूरा गर्नुपर्छ ।
आधिकारिकता प्राप्त गरेपछि विज्ञापन कसले कति समयका लागि गरेको, कुन ठाउँबाट गरेको र कति पैसा खर्च गरिएको लगायत सूचनाको सारांश फेसबुकले सार्वजनिक रुपमा देखाउँछ ।
फेसबुकको एड लाइब्रेरीमा गएर जसले पनि विज्ञापनसम्बन्धी यी जानकारी प्राप्त गर्न सक्नेछन् । यस्तो जानकारी सात वर्षसम्म एड लाइब्रेरीमा रहने आयोगले जनाएको छ।