अनायासै दुःख दिने दुर्जनहरू कसरी टिक्दा रैछन्
सपना देखाइ खोसिहाल्नेहरू कसरी बिक्दा रैछन्
जिन्दगीमा हन्डर खाएकाहरू थोरै उज्यालो देख्दा
पूर्व नै हिंड्ने साहस गर्नेहरूले कसरी सिक्दा रैछन् ॥
***
मेरो समर्पण आज कसैको लागि आधा भैदियो
एकोहोरो बलिदानले उनको मनमा बाधा भैदियो
जिन्दगी नबुझ्नेलाई समर्पणको अर्थ बुझाइ रहँदा
सारङ्गीको धुनमा आज यो मन आफैं राधा भैदियो॥
***
चन्द्रमा जस्तै तिमीलाई टल्काउन पाए पो जिन्दगी
निश्छल माया त्यो मुटुमा झल्काउन पाए पो जिन्दगी
बैरीहरू पटक पटक भ्रम छर्दै छुट्याउन खोजिरहँदा
उनको हृदयलाई यो मुटुमा पल्काउन पाएपो जिन्दगी॥
***
उही पुरानो भोटो जस्तै भोगाइ जो जिन्दगीको
कहिले निको नहुने भयो रोगाइ हो जिन्दगीको
घरदेशमा आत्मा छ ठिङ्ग शरीरमात्रै परदेशमा
अल्लारे जस्तै भयो हाम्रो ढोगाई यो जिन्दगीको॥
***
चाहनाले मनभरी बसे खाली पाए जिन्दगानी
साँझपख कुरेर बस्दा काली पाए जिन्दगानी
मनको भारी बिसाउन रोजेको यो चौतारीमा
थाहै नदिइ लुटिहिंड्ने खाली पाए जिन्दगानी॥
कति लेख्नु है कविता नेपालको सधैं मानेर रमिता
जे भएको छ यही नै ठिक कसरी भनौं छानेर कविता
संँदैन बुझ्न यहाँ अचम्मका पाए मान्छे बजारमा
तर कसरी चम्किएकी हुन् घनले मात्रै हानेर सबिता॥
***
आउँछ मधुमास ठानेर भॅवरा चुम्नलाई आँकुरी
निःवस्त्र आएको देख्दा लाजैले भुतुक्क लॅाकुरी
तिर्खालु छन् सबैतिर मनका धेरै गाँठा पर्दिनाले
प्यास नमेट्दै जालमा पार्दिएर नकचरी माकुरी॥
***
आज देशमा लाज पनि लाजैले भयो भुतुक्क
यताको माया फेरि उता कसरी गयो सुटुक्क
मान्नेले लाजै नमाने पछि यो मन यसै लजाउँदा
ठिङ्गै ठाडो शरीर फेरि पनि आज बस्यो थुचुक्क॥
***
स्वार्थ अँगालेर दिगो मित्रता जान्दैन कहिल्यै
असभ्य बोल्नेलाई बहादुर छौ ठान्दैन कहिल्यै
के कामै भयो उपलब्धिको खुसी हुने छैनन भने
न्यानो सम्बन्ध चिस्याउन मन मान्दैन कहिल्यै
***
बजाउँदैछु बाँसुरी छमछम नाचिदेउ न मायालु
नफालन खेर सुन्दर जोबन सॅाचिदेउ न मायालु
नमिलेको तालमा बरीलै सकिनै लाग्यो जिन्दगी
जालमा परे पनि मेरो लागि बॅाचिदेउ न मायालु॥