अचेतन अवस्थामा रगतका डल्ला र
फोहोरमा खेलिरहे होला
चेतनाको विकाससँगै
संघर्षका पाइला उचाल्दै गर्दा
राम्रो नराम्रो ठिक बेठिक
छुट्याउन सक्ने भएँछु
बुबाका संघर्षका कथा सुन्दै
आमाका सहनशीलता र लगनको
पाठ पढ्दै पढ्दै
विद्यालय पुग्दा
अर्को संसारमा टेकेछु

कयौं पटक घरमा छोडेका
बुबाआमा पाएँ कक्षाहरूमा
उही संघर्ष उही बलिदान
सेता पानाभरि काला अक्षरहरू
कतै फूलबुट्टा भरेर
मन लोभ्याउने गरी
मलाई घच्घचाइरहन्थ्यो
आकर्षक पारेर हिमाल चढाउँथ्यो
कहिले निराशाको पोखरीमा डुबाउँथ्यो
वास्तविक लाग्थ्यो त्यो समय
यथार्थको धरातलमा जब म ठिङ्ग उभिएँ
उनीहरू त आफ्नो पेशामा
कठिबद्ध रहेछन्
शिखरको ताज बोकेर

जन्मेको सार्थक पार्नलाई
अधिकारको खोजी गर्दै
कर्तव्यलाई ध्यानमा राखेर
मैले पनि पेशा रोजेको छु
बेइमानको भूत झार्ने
इमानदारीको खोल ओड्ने
उच्च शिखरमा देखिएको
शिक्षक पेशा ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु