विराटनगर । आज सोमबार जननिर्वाचित जनप्रनिधिबाट गठन भएको संविधान सभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।

यस अवसरमा देशभर विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । काठमाडौंमा संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायत सहभागी हुने जनाइएको छ ।र

संविधान दिवसका अवसरमा सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ ।

यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलका नेताहरुदेखि प्रदेशका मुख्यमन्त्रीहरुले शुभकामना सन्देश दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने बताएकी छन् ।

शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति उनले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् । मुलुकमा लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने काममा निरन्तर क्रियाशील र प्रतिबद्ध रहेको उनको भनाइ छ ।

शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनबाट संविधानले आत्मसात् गरेको लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यता तथा सबैको हक र अधिकार व्यावहारिक रुपमा स्थापित हुने उल्लेख गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम् समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । शुभकामना सन्देश दिँदै उनले विवादलाई संवादमा रुपान्तरण गर्न, राष्ट्रिय एकता कायम गर्न र संविधानको निष्ठापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दे सातौं संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना दिएका छन्। सात दशकको निरन्तर राजनीतिक संघर्ष र बलिदानको प्रतिफलस्वरूप जनताद्वारा निर्वाचित संविधानसभाले २०७२ साल असोज ३ गते जारी गरेको नेपालको संविधानप्रति आज हामी सम्मान व्यक्त गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रलाई एकताको सूत्रमा बाँधेर जनतामा अन्तर्निहित सार्वभौमसत्ता, कानूनको शासन, सामाजिक न्याय र जनताका आधारभूत हक अधिकारको सुनिश्चित गर्ने वर्तमान संविधान सामन्तवादको अन्त्य गर्ने प्रगतिशील राजनीतिक दस्तावेजका रूपमा रहेको ओलीले बताएका छन् ।

यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि शुभकामना सन्देश दिएका छन् । उनले संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको उल्लेख गरेका छन् ।

प्रतिगमनविरोधी अग्रगामी नेपालीलाई गठबन्धनमा रहेका दललाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि उनले अपिल गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरू संविधानविरुद्ध लागिरहेको बताएका छन् ।

आठौं संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताएका छन् ।

संविधान जारी भएको दिनलाई ‘कालो दिवस’ का रूपमा मनाउँदै आएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले यसपटक भने शुभकामना दिएका छन् ।

उनले संविधान संशोधनको माग गरेका छन् । संविधान भनेको मौलिक सिद्धान्तहरू वा स्थापित पूर्वाधारहरूको समुच्चय हो भन्दै यादवले संविधानले हरेक नागरिकलाई आफ्नो राष्ट्रियतासँग एकताबद्ध गराउन मद्दत गर्नुपर्नेमा जोड दिएका छन् ।

यसैबीच, विभिन्न मधेसवादी दलहरुले भने संविधान दिवसलाई ‘कालो दिन’ का रुपमा मनाइरहेका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी र रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले आफूहरुको माग नसमेटिएकाले संविधान अपूर्ण भएको भन्दै कालो दिनका रुपमा मनाउने उल्लेख गरेका छन् ।

प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘विभिन्न कालखण्डमा राष्ट्रिय स्वाधीनता, शान्ति र लोकतन्त्रका लागि भएका आन्दोलन तथा संघर्षहरूमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, आदिवासी जनजाति र विभिन्न समुदायका संघर्षमा सहभागी सबैप्रति हार्दिक आभार प्रकट गर्दछु ।’

नेपालको संविधानमा नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका महत्वपूर्ण अङ्गहरूको व्यवस्थाले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको उनको भनाइ छ ।

संविधानले साझा शासन र स्वशासनको उचित तालमेल मिलाई सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संघीय शासन प्रणालीको स्थापना गर्ने परिकल्पना गरेको राईले उल्लेख गरेका छन् ।

संविधान दिवस–२०७९ का अवसरमा हामी सबैलाई एकतावद्ध भई अगाडि बढ्न प्रेरित गर्नेछ भन्ने अपेक्षा उनले व्यक्त गरेका छन् ।

56
Shares
३ आश्विन २०७९, सोमबार १०:४०