आइतबार चार दलले निर्वाचन आयोगमा सूची बुझाएका थिए ।प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दी सूची बुझाउनुपर्छ ।
कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपासहितका दलहरुले भने सोमबार बन्द सूची बुझाउने तयारी गरेका छन् ।कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलले उम्मेदवारको अन्तिम सूची तयार गरेको जनाएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन् ।
मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधिसभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउँछन् । यसअनुसार प्रतिनिधिसभामा ११० र प्रदेश सभामा २२० सांसद समानुपातिकबाट छानिन्छन् ।समानुपातिकतर्फको बन्दसूचीमा दलहरूले कूल उम्मेदवारमध्ये खस–आर्य ३१.२, आदिवासी जनजाति २८.७, मधेसी १५.३, दलित १३.८, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत समावेश गर्नुपर्नेछ ।
प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने व्यवस्था छ । आइतबार र सोमबार बन्दसूची बुझाउने आयोगको कार्यतालिका रहे पनि दलहरूले १६ असोजसम्म बन्दसूची सच्याउन सक्नेछन् ।