विराटनगर । सुनसरीको इटहरी उपमहानगर–२ मा रहेको ‘माया घर’ संरक्षणका लागि राखिएकी एक बालिकाको मृत्यु भएको छ। सुनसरीकै कोसी गाउँपालिका घर भएकी अन्दाजी १३ वर्षीया पूजा शर्माको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मानसिक रुपले असन्तुलित अवस्थाकी सौतेनी आमासँग बेवारिसे अवस्थामा धरानको घण्टाघरमा भेटिएकी पूजालाई आमासँगै उद्धार गरी त्यहाँ राखिएको थियो ।
एक्कासि पेट दुख्ने थालेपछि उनलाई उपचारका लागि शनिबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा आइतबार राति ८ः३० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माया घरकी सचिव शुभद्रा प्याकुरेलका अनुसार परीक्षणका क्रममा उनमा एपेन्डिसाइड देखिएको थियो । भिडियो एक्स–रे गर्दा पित्तथैलीमा पत्थरी पनि देखिएको चिकित्सकले बताएको उनले सुनाइन् । समस्या पत्ता लागेपछि शल्यक्रियाको तयारी हुँदै थियो ।
पूजा इटहरीको महेन्द्र माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्थिन् । विद्यालयमा परीक्षा दिँदादिँदै बिरामी परेपछि उपचारका लागि लगिएको थियो ।
प्रहरीसँग समन्वय गरी प्रक्रिया पूरा गरेर पूजाको अन्त्येष्टिको तयारी भइरहेको जानकारी उनले दिइन् ।
मानसिक समस्या भएका, बेवारिस भेटिएका, आफन्त नभएका लाई आमासहित उद्धार गरी माया घरमा ल्याएर लालनपालन, संरक्षण, शिक्षादीक्षा र उपचारका लागि राख्ने गरिएको प्याकुरेलको भनाइ छ ।
माया घरमा हाल ९२ जनालाई राखिएको छ । मानवीय सेवाको उद्देश्य राखेर २०७४ सालदेखि माया घर सञ्चालनमा छ ।