विराटनगर । प्रदेश १ का पहाडी जिल्लाको मुख्य नगदे बाली अलैंची निर्यातका कमी आएको छ । आर्थिक वर्ष २०७९/८० को साउनमा निर्यात ३५.८९ प्रतिशतले कम भएको हो ।
अघिल्लो आर्थिक वर्षमा ३२.४८ प्रतिशतले अलैंची निर्यात घटेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । केही वर्षयता निर्यात लगातार घट्ने क्रममा छ । गत वर्ष साढे २१ प्रतिशतले निकासी घटेको केन्द्रको तथ्याङ्क छ ।
अघिल्लो आर्थिक वर्षको साउन महिनामा ३५ करोड ६५ लाख रुपैयाँको अलैंची निकासी भएकामा यो वर्षको सोही अवधिमा घटेर २२ करोड ८५ लाख बराबरको निकासी भएको छ ।
आर्थिक वर्ष ०६८/६९ मा ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको अलैंची विभिन्न मुलुकमा निर्यात भएको केन्द्रको तथ्याङ्क छ ।
०६८/६९ मा ३.४ अर्ब, त्यसपछिको वर्ष ३.८ अर्ब, हुँदै ०७२/७३ मा ४.६ अर्ब रुपैयाँको का अलैंची निकासी भएको तथ्यांक छ ।
अलैंची प्रदेश १ को मुख्य नगदे बाली हो । सबैभन्दा बढी ताप्लेजुङमा उत्पादन हुने अलैंची, इलाम, पाँचथर, संखुवासभा, भोजपुर, लमजुुङलगायत जिल्लामा पनि उत्पादन हुन्छ । यसैगरी मुलुकका अरु स्थानमा विस्तार भएर हाल ४० भन्दा बढी जिल्लाको उत्पादन बनेको छ ।
नेपालमा छ सयदेखि २८ सय मिटर उचाइसम्म अलैंची उत्पादन हुने गरेको छ। मसलाको परिकार, बिस्कुट, मदिरा, बेकरी, सुगन्धित तेल जस्ता चिज बनाउन अलैंची प्रयोग हुन्छ । खासगरी खाडी र तेस्रो मुलुकमा अलैंची निकासी हुने गरेको छ ।