विराटनगर । कठिन शारीरिक मेहनत गर्नुपर्ने जोखिमपूर्ण खेलमा छोरी लागिपरेको देख्दा अभिभावक र परिवारका सदस्य उदेक मान्थे । शारीरिक ब्यायाम र बल पर्ने खालको खेलमा अभ्यास र प्रतिस्पर्धा गर्दा धेरैपटक चोटपटक लाग्थ्यो । त्यस्तो अवस्थामा परिवारले खेलमा नलाग्न दबाव दिने गरेको थियो ।
तर दीपा बिष्टले हरेस खाइनन् । आफूलाई मन परेको खेलमा लागिरहिन् । उनको यही लगावका कारण दुर्लभ सफलता मिलेको छ । ‘स्ट्रेन्थलिफ्टिङ एण्ड आइबीपी’ खेलमा उनले अन्तर्राष्ट्रिय पदक हासिल गरेकी छन् । यसरी पदक पाउने उनी पहिलो खेलाडीका रुपमा स्थापित भएकी छन् ।
किर्गिस्तानमा भदौ २० गतेबाट आयोजना भएको ९ औं विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड आइबीपी च्याम्पियनसीपमा विष्टले एक स्वर्ण र एक रजत पदक हासिल गरेकी हुन् ।
यो खेल भारत्तोलन जस्तै हो । यसमा केही फरक नियम र खेल कौशलका जुक्ति हुन्छन् । स्क्वाट, बेन्च प्रेस र डेडलिफ्ट जस्ता चरणवद्ध रुपमा यो खेलमा सहभागिता जनाइन्छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका ११, सलकपुर घर भएकी २६ वर्षीया विष्ट सानैबाट शारीरिक सुगठनतिर आकर्षित हुँदै आएकी थिइन् । शरीरको बनोटमा विशेष ध्यान दिएकी दिपाको क्याम्पस अध्ययन गर्दै गर्दाबाट मनपर्ने स्थान ब्यायामशाला बन्दै गयो ।
सलकपुरको शिक्षा निकेतनबाट माध्यमिक तहको पढाइपछि उनी नजिकैको सुकुना क्याम्पसमा अध्ययनका लागि भर्ना भएकी थिइन् । लालबहादुर विष्ट र दुर्गादेवी विष्टको कान्छी छोरी दिपाको सपना शारीरिक सुगठनको प्रतियोगितामा सहभागिता जनाएर पदक जित्ने रहँदै आएको थियो । परिवार भने अरु नै पेशामा लाग्न सुझाव दिन्थे ।
‘पहिले ब्यायामशाला जाँदा शरीरमा चोट लागेको देखेर बुवाआमा तर्सिनुहुन्थ्यो’ उनले भनिन्, ‘अचेल सबैजना खुसी हुनुहुन्छ ।’
उनले २०७२ सालमा विराट चोकस्थित एक एफएम रेडियोमा कार्यक्रम सञ्चालन गरेकी थिइन् । मुलुकमा भविष्य कम देखेको र आफन्तहरु विदेशमा रहेको अवस्थामा विष्ट पनि क्याम्पस पढाइपछि विदेशिने मोहमा परेकी थिइन् ।
उनी आफन्त दिदीहरुसँग पोर्चुगल जाने तरखरमा समेत थिइन् । घरबाट २०७४ सालतिर त्यसकै सिलसिलामा उनी काठमाडौं गइन् । विदेश जानका लागि कागजपत्र तयार गरिन् ।
कोरोना महामारीका कारण उनी जान पाइनन् । ‘त्यसबेला विदेश जाने निकै रहर थियो । घरबाट विदेश जानका लागि काठमाडौं आएँ । भाग्य भनौं वा दुर्भाग्य कोभिडले मलाई विदेशिनबाट रोकेको थियो ।’
त्यसपछि उनले शारीरिक सुगठनका लागि कालीमाटीस्थित एक ब्यायामशालामा प्रशिक्षकका रुपमा काम गरिन् । त्यही क्रममा उनको ध्यान स्ट्रेन्थलिफ्टिङतिर तानियो । मुलुकमा भित्रँदै गरेको नयाँ खेलमा उनलाई रुचि भयो । ‘त्यसै बेलादेखि मैले स्ट्रेन्थलिफ्टिङ एण्ड आइबीपीमा बढी ध्यान दिन थालें’ उनले भनिन् ।
ब्यायामशालामा जोडिएपछि विष्टले गत बैशाखमा धर्मश्री प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । त्यसमा अपेक्षाकृत नतिजा नआएपछि झापामा सम्पन्न स्ट्रेन्थलिफ्टिङ प्रतियोगितामा सहभागी भइन् ।
उनले भनिन्, ‘झापामा प्रतियोगिता हुँदा बुवा हेर्न आउनु भएको थियो । त्यहाँ म विजेता बनेपछि उहाँ निकै हर्षित हुनुभयो । अनि मलाई खेल्न झन् हौसला मिलेको थियो ।’ उनले दुई महिना अघि काठमाडौैमा सम्पन्न राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड आइबीपी प्रतियोगितामा सहभागिता जनाइन् ।
उक्त प्रतियोगितामा पहिलो बन्दै विभिन्न विधामा स्वर्ण पदक हासिल गर्न सफल भइन् । त्यसपछि स्ट्रेन्थलिफ्टिङ एण्ड आइबीपीले १३ वटा राष्ट्रको सहभागितामा किर्गिस्तानमा आयोजित विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड आइबीपी च्याम्पिन्सीपमा सहभागी गराएको थियो ।
उनी प्रतियोगितामा नयाँ विश्व कीर्तिमान राख्न सफल भइन् । ७२ किलो तौल समूहमा विष्टले ७० किलो तौल उचालेर ‘इन्क्लाइन बेन्च प्रेस’ तर्फ नयाँ विश्व कीर्तिमान बनाएकी थिइन् ।
त्यसअघि ६५ किलो तौल समूह उचालेर पाकिस्तानकी खेलाडीले कीर्तिमान राखेकी थिइन् । नवौं विश्व च्याम्पियनसीपमा विष्टले स्ट्रेन्थलिफ्टिङतर्फ रजत पदक हात पारेकी थिइन् ।
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेकी विष्ट प्रतियोगितामा सहभागी हुनसमेत आर्थिक पक्षबाट सम्भव भएको बताउँछिन् । राज्यबाट आर्थिक पाटोमा सहयोग हुन नसकेको दुखेसो गरेकी उनले भनिन्, ‘खेल र खेलकुदलाई राज्यले पनि माया गरिदिनुपर्छ । त्यसो हुन सके उत्साह प्राप्त हुन्छ ।’
राष्ट्रिय खेलकुद परिषदमा दर्ता प्रक्रियामा रहेको स्ट्रेन्थलिफ्टिङ खेलले औपचारिकता पाउन बाँकी छ । जिल्ला र प्रदेशमा भने आफ्नो उक्त खेलसम्बन्धी एशोसिएसन गठन भइरहेको छ ।
आइतबार विराटनगरमा विष्टलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ प्रदेश १ ले सम्मान गरेको छ । उनलाई संघका अध्यक्ष वसन्तराज अर्याल, नेपाली कांग्रेस संसदीय दलका नेता सूयर्माराज राई, स्ट्रेन्थलिफ्टिङ प्रदेश १ का सदस्य कविर प्रधानानाङ्ग लगायतले सम्मान गरेका थिए ।