विराटनगर । आत्महत्या रोकथाम र नियन्त्रणका लागि समुदायलाई लक्षित गर्दै प्रदेश १ मा अभियान सुरु भएको छ । आत्महत्याबाट जीवन समाप्त पार्नबाट रोक्ने उद्देश्यले आइतबारबाट अभियान सञ्चालन गरिएको हो ।

प्रदेश सरकार र प्रदेश प्रहरी कार्यालयको पहलमा भएको अभियानको शुभारम्भ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गरेका थिए । यसै अवसरमा नागरिक अगुवा, सुरक्षाकर्मी, नागरिक अगुवा, विद्यार्थी, शिक्षक, बुद्धिजीवी लगायतको सहभागितामा र्याली निकालिएको थियो ।

त्यस क्रममा आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी चेतनामूलक पर्चा, पम्प्लेट सहित सरोकारवालाको सहभागिता थियो । मुख्यमन्त्री राईले जीवनमा निराशा उत्पन्न भई मानिसले आत्महत्याको बाटो रोज्ने गरेको तर यसलाई नियन्त्रण गर्न सबैले लाग्नुपर्ने बताए ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मानिसले आफ्नो असफलता र कमजोरीलाई नकारात्मक सोच्न नहुनेमा जोड दिए ।

सामाजिक विकासमन्त्री राजन राईले आत्महत्याको दर कम गर्दै लैजान समुदाय केन्द्रित अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । स्वास्थ्यमन्त्री जयराम यादवले कारण पहिल्याउँदै उपयुक्त र प्रभावकारी हस्तक्षेप गर्न सकेमा आत्महत्या रोकथाममा सहयोग पुग्ने बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले आत्महत्या न्यूनीकरणमा समाजको सहयोग अपरिहार्य हुने बताए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

प्रदेश प्रहरी कार्यालयका डीएसपी नरेन्द्र कुँवरले आत्महत्याको वर्तमान अवस्थासम्बन्धी तथ्यांक र रोकथामका चुनौती तथा उपायबारे जानकारी गराएका थिए ।

कोसी अस्पताल विराटनगरका मनोचिकित्सक डा. आलोक झाका अनुसार असफलता, बेरोजगारी, गरिबी, नाकारात्मक सोच, लागूऔषधको दुव्र्यसन, मदिरा सेवन जस्ता कारणले आत्माहत्याको दर बढाएको छ ।

महत्वकांक्षा, प्रेममा धोका, सामाजिक सञ्जालको दुरुपयोग, छुवाछुत एवं अपहेलना, तनावपूर्ण घटना, कमजोर जीवनशैली, पारिवारिक कलह, अरुको सिको, अत्यधिक चिन्ता, अवैध गर्भ धारण, बालबालिकालाई अभिभावकको बेवास्ता, वृद्धवृद्धामा उचित हेरचाहको कमी जस्ता कारणले आत्महत्या गर्ने क्रम बढेको उनी बताउँछन् ।

प्रदेश प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले नागरिकको जीवनरक्षा गर्ने मूल दायित्व नेपाल प्रहरीको भएकाले कार्ययोजनामै समेटेर अभियान सुरु गरिएको बताए ।

गिरीका अनुसार प्रदेशका १४ वटै जिल्लामा अभियान सुरु गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत हरेक टोल र समुदायमा १ वर्षसम्म अभियान केन्द्रित हुने उनले बताए ।

प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा मुलुकभर ५ हजार ९ सय ८३ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेको संख्या प्रदेश १ मा सबैभन्दा धेरै छ । एक वर्षको अवधिमा १ हजार ४ सय ८९ जनाले प्रदेश १ मा आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रदेश १ पछि लुम्बिनीमा १ हजार २ सय ९७, मधेसमा १ हजार १५, बागमतीमा ९ सय १, गण्डकीमा ६ सय ९७, सुदूरपश्चिममा ५ सय ७९, उपत्यकामा ५ सय २६ र कर्णालीमा २ सय ९० जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु