विराटनगर । महानगरमा सोमबारदेखि ‘कर्पोरेट स्तरीय नकआउट फुटसल’ प्रतियोगिता हुने भएको छ । आइतबार नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

च्याप्टरका अध्यक्ष राघव कोइरालाले खेलकुदको माध्यमबाट शारीरिक र मानसिक स्वास्थ्यप्रति जागरुकता जगाउनका लागि प्रतियोगिता आयोजना गर्न लागेको बताए । च्याप्टरले विभिन्न युवा उद्यमीलाई विभिन्न सामाजिक कार्य गर्न प्रोत्साहन गर्ने र उद्यमको विकासमा काम गर्दै आएको कोइरालाले बताए ।

प्रतियोगिताका संयोजक उत्कृष्ट भट्टराईका अनुसार विभिन्न आर्थिक कारोबार (कर्पोरेट) सँग सम्बन्धित संघसंस्थाहरुले भाग लिएका छन् । असोज ३ देखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा कर्पोरेट संस्थाले सहभागिता जनाएका छन् ।

आकृति फर्मा ‘ए’, आकृति फर्मा ‘बी’, विराट मेडिकल कलेज, जेएमके ‘ए’, जेएमके ‘बी’, एनवाइइ एफ, पूर्वाञ्चल प्याकेजिङ, कुस गार्डेन, टंकीसिनबारी जेसिज, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी, नबील बैंक र प्रकृति हर्वास्युटिकल्सले भाग लिएका छन् ।

प्रतियोगितमा भाग लिएका खेलाडीको प्रतियोगिताभरका लागि बिमा गरिएको छ । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् ।

त्यस्तै, व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु