-अघिल्लो निर्वाचनका बेला मतदान गर्न विराटनगरको पुसेट कलेजमा लाम लागेका मतदाता । फाइल तस्बिर ।
काठमाडौं । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबैभन्दा बढी मतदाता मोरङमा छन् । मतदाता संख्याका आधारमा त्यसपछि झापा र काठमाडौंमा परेका छन् ।
निर्वाचन आयोगका अनुसार मोरङमा ७ लाख ३५ हजार ५२५ जना मतदाता छन् । यस्तै, झापामा ६ लाख ६३ हजार ३११ तथा काठमाडौंमा ६ लाख ५२ हजार १२६ जना रहेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम नामावली सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
आयोगका अनुसार आगामी निर्वाचनको लागि देशभरि गरी कूल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० छ ।
यस्तै, आउँदो निर्वाचनमा सबैभन्दा कम मतदाता रहेका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा छन् । मनाङमा ६ हजार ७७९, मुस्ताङमा १० हजार ९५७ र डोल्पामा २२ हजार ७७४ जना मतदाता छन् । प्रदेशका हिसाबले सबैभन्दा बढी मतदाता बागमती, प्रदेश १ र मधेश प्रदेशमा छन् ।
आयोगका अनुसार बागमती प्रदेशमा ३४ लाख ७१ हजार ४९२, प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ र मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना मतदाता छन् ।
यस्तै, सबैभन्दा कम मतदाता रहेका प्रदेशमा कर्णाली, सुदूरपश्चिम र गण्डकी छन् । कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३, सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ र गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१ जना मतदाता छन् ।
यसैबीच, निर्वाचन कार्यक्रमअनुसार आइतबारबाट प्रक्रिया सुरु हुँदैछ । निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारहरुको सूची दलहरुले बुझाउने तयारी गरेका छन् ।
आइतबार र सोमबार समानुपातिकतर्फका उम्मेदवारहरुको सूची बुझाउनुपर्ने भएकाले विभिन्न राजनीतिक दलहरुले यसको अन्तिम तयारी गरिरहेका छन् ।