काठमाडौं। मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि हुन नदिन निगरानी गरिने भएको छ । निर्वाचन आयोगले यसका लागि सुक्ष्म अनुगमनको व्यवस्था गरेको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दल र उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता र कानुन विपरीतका गतिविधिहरु हुन नदिन नीतिगत र संरचनागत व्यवस्था गरेको बताएका छन् ।
निर्वाचनमा उम्मेदवारहरुले गर्ने खर्चको सीमाबारे पुनरावलोकन गरी सार्वजनिक गर्ने आयोगको तयारी छ ।
निर्वाचनमा दल र उम्मेदवारबाट हुनसक्ने अपारदर्शी, आचारसंहिता र कानुन विपरीतका खर्चहरुको नियमन गर्न पनि प्रक्रियागत पहल गरिने भएको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले यसअघिको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनभन्दा कम खर्च हुने गरी मंसिर ४ गतेको निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको बताए।
यसैबीच, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबारबाट सुरु हुँदैछ। निर्वाचन कार्यक्रमअनुसार आइतबार र सोमबार राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेस गर्नेछन् ।
संसदको कार्यकाल शनिबार समाप्त भएको छ । त्यसैले आइतबार समानुपातिकतर्फको मनोनयन हुन लागेको हो।
निर्वाचन आयोगका अनुसार दलहरूले समानुपातिकतर्फको बन्दसूची असोज ३ गतेभित्र बुझाइसक्नुपर्नेछ ।
यसैगरी प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन असोज २३ गतेदेखि मनोनयन सुरु हुने निर्वाचन आयोगले जनाएको छ।