अविरल झरीजस्तै
तिम्रो आँखाको आँसुले
भित्र यतै कतै
मेरो हृदय भिजाएपछि
मनको त्यही पाना सर्लक्क बिछ्याएर
लेख्दैछु एउटा कविता।

ए मान्छे हो!
म तपस्यामा छु,
अहिले मलाई एउटा कविता लेख्न देओ।

जब सिङ्गै बस्ती
तुवाँलोको चपेटामा मुर्च्छित हुन्छ
कसरी झिसमिसे बोलाउन सक्छ्यौ तिमी?
जब छुस्के भुइँकुहिराहरु छिर्छन् गाउँमा र
तनतनी पिइदिन्छन् मान्छेका सपनाहरु
कति–कति– कतिपल्ट
बोकेर आउन सक्छ्यौ न्यानो घाम?
पहिरोले पुरिएका मनहरु
बाढीले खाएका तनहरु
भुकम्पले थिचिएका स्पन्दनहरुलाई देख्दा
किन बारम्बर कुँडिन्छ तिम्रो नै मन?
म बुझ्न सक्दिन,
तिमी अर्कै ग्रहबाट झरेर
यो भीडमा मिसियौ कि
जोग्राफिकल मिस्टेक हौ तिमी?

ए आँधीहरु हो!
एकछिन रुक
म कविता लेख्दैछु यतिबेला।

तिमीले जस्तै–
रातो बाकसमा आएर
साँघुरो आँगनमा लडेको तन्नेरीलाई
मैले पनि देखेको छु,
तिमीले जस्तै–
दासताको सिक्रीले युगौँयुगदेखि बाँधिएर
मुर्च्छित बाँचेकी चेलीलाई
मैले पनि देखेको छु,
यौन पिपासुका पञ्जा गाडिएर
काँडेझाँगमा फ्याँकिएकी अबोध छोरीको मृत शरीर
तिमीले जस्तै मैले पनि देखेको छु,
दसैंको टीकाको साँझ
हातमा अक्षता र मनभरि आशीर्वाद बोकेर
सन्तान पर्खिँदै टोह्लाएका बृद्ध आमाबाबुलाई
बृद्धाश्रमको रोगी कोठामा
मैले पनि देखेको छु– तिमीले जस्तै–
फरक यत्ति हो–
तिमी आँसुको भलबाडीमा डुबेर रोइरहेकी हुन्छयौ,
म टेलिभिजन पत्रकारको क्यामेरा अघिल्तिर
मुस्कुराइरहेको हुन्छु।

शंखघोष गरेर
युद्ध मैदानमा मलाई पर्खिरहेका
ए मेरा दुश्मनहरु हो!
एकछिन पर्ख–
म कविताको अन्तिम हरफ लेख्दैछु।

कोही संवेदनाले थलिएका छन् यहाँ
कोही संवेदनाहीन छन् यहाँ
यो मान्छेको भीडभित्र
म पनि छु
तिमी पनि पूजाको थाली बोकेर
कुनै रोइरहेको ईश्वरलाई भेट्न कुदिरहिछ्यौ
थाहा छैन–
कुन ईश्वरलाई कुन गल्लीमा भेट्नेछ्यौ र
रुन थाल्नेछ्यौ फेरि!

सानु!
अविरल झरीजस्तै
तिम्रो आँखाको आँसुले
भित्र यतै मेरो हृदय भिजाएपछि
मनको त्यही पाना सर्लक्क बिछ्याएर
लेख्दैछु एउटा कविता।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु