यसका लागि आन्तरिक ऋण लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सहवित्तीयकरणका अगुवाइ गर्ने एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम तथा नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नागरिक लगानी कोषका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् ।
आयोजनामा नेपालका बैङ्क तथा वित्तीय संस्थाले ५३ अर्ब ३४ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । आयोजनाको कूल लागत २ खर्ब १४ अर्ब ८६ करोड रुपैयाँ बराबर रहने जनाइएको छ ।कूल लागतको ७० प्रतिशत ऋण लगानी हुनेछ भने ३० प्रतिशत स्वःपुँजी रहने जनाइएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र मन्त्रालयका उच्च अधिकारीको उपस्थितिमा भएको समझदारीअनुसार ऋण लगानीसम्बन्धी निर्णय हुनेछ ।आयोजनामा ऋणतर्फ एक खर्ब ५० अर्ब ४० करोड रुपैयाँ बराबर रहनेछ । वैदेशिक ऋण ९७ अर्ब छ करोड रुपैयाँ बराबर रहनेछ । विश्व बैङ्क, युरोपियन इन्भेस्टमेन्ट बैङ्कलगायतका वैदेशिक ऋण लिने पहल भइरहेको जनाइएको छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको अर्ध जलाशय प्रकृतिको यो आयोजनाको अहिलेसम्मको अध्ययनअनुसार अरुण नदीमा एक सय ८३ मिटर लामो र एक सय मिटर उचाइको बाँध बाँधिनेछ । आयोजनाका लागि आठ दशमलव पाँच किलोमिटर लामो सुरुङ पनि बनाइने छ ।