विराटनगर । तराईमा बसोबास गर्ने थारु र मैथिली समुदायका महिलाहरूले आइतबार जितिया पर्व मनाउँदैछन् । यस अवसरमा सन्तानको दीर्घायुका लागि व्रत बस्ने परम्परा छ ।

व्रत आश्विन कृष्णपक्षकोे अष्टमी तिथिका दिन बस्ने चलन छ । आश्विन कृष्ण सप्तमी तिथिका दिन व्रतालुहरु स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास बस्छन् । नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर जितिया पर्व समापन हुन्छ ।

व्रतका क्रममा राति जितवाहन भगवानको कथा र महिमा सुन्ने चलन छ । खासगरी थारु र मैथिली समुदायको ठूलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख, शान्ति र चिरायुका लागि प्रसिद्ध छ ।

सत्ययुगमा भगवान् विष्णुको तपस्या गरी वरदान पाएका सत्यवादी पुरुष जितवाहनको पूजा आराधना गर्नाले सन्तानको अकाल मृत्यु नहुने मान्यताबमोजिम जितवाहनको पूजा र व्रत गर्ने परम्पराको थालनी भएको भन्ने भनाइ छ । जितिया पर्व जिमूतवाहन र जिवित्पुत्रका नामले पनि चिनिन्छ । यो तराई–मधेसको महत्वपूर्ण लोक पर्व हो ।

यसैबीच, प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले प्रदेश १ सहित देश, विदेशमा बस्नुहुने सबै नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

–फाइल तस्बिर ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु