विराटनगर । उद्योगमा कार्यरत महिला मजदुरलाई बलात्कार गरेको आरोपमा झापाको अर्जुनधाराबाट प्रहरीले शनिबार राति एक युवकलाई पक्राउ गरेको छ ।
झापा प्रहरीका प्रवक्ता डीएसपी वसन्त पाठकका अनुसार उदयपुरको बेलका नगरपालिका–९ घर भएका ३२ वर्षीय मन्दीप पुरीलाई पक्राउ गरिएको हो ।
पुरी अर्जुनधारा नगरपालिका–७ मा ब्लक उत्पादन गर्दै आएको उद्योगमा कार्यरत हुन् । त्यही उद्योगमा काम गर्ने झापाको बुद्धशान्ति गाउँपालिका–२ की १९ वर्षीया विवाहित युवतीलाई बलात्कार गरेको पुरीमाथि आरोप छ ।
पति घरमा नभएका बेला रातको समयमा कोठामा पुगेर त्रास देखाउँदै बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी पाठकले जानकारी दिए ।
पीडित भनिएकी युवतीले इलाका प्रहरी कार्यालय अनारमनीमा किटानी जाहेरी दिएपछि पुरी पक्राउ परेका हुन् । प्रहरीले उनीविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
–यो समाचारमा प्रयोग गरिएको तस्बिर प्रतीकात्मक हो ।