विराटनगर । खानेपानीको चर्को अभावले पिरोलिएका मोरङको कानेपोखरीका बासिन्दालाई अब सुबिस्ता हुने भएको छ । गाउँपालिकाको कानेपोखरी बजारमा प्रदेश सरकारको लगानीमा योजना बनेपछि सहज हुने भएको हो ।
कानेपाखरी–७, हाइवे लाइनमा कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आयोजना निर्माण गरेका हुन् । निर्माण सकिएपछि प्रदेश १ प्रदेशसभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक सूयर्माराज राईले उद्घाटन गरे ।
२ लाख २५ हजार लिटर क्षमताको ओभर हेड ट्याङ्कीबाट २४ घण्टा पानी वितरण गर्ने गरी ३ हजार मिटर खानेपानी पाइप बिस्तार गरिएको छ ।
स्थानीय सामुदायिक वनको ५ कट्ठा जमिनमा उपभोक्ता समितिले खानेपानी आयोजना निर्माण गरेको हो । ३ करोड २७ लाख ९५ हजार रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण भएको हो ।
‘एक प्रदेश निर्वाचन क्षेत्रमा एक खानेपानी आयोजना’ अन्तर्गत २०७५ पुस १६ गने गते निर्माणका लागि शिलान्यास गरिएको थियो । उद्घाटनका अवसरमा बोल्दै सांसद राईले जिल्लाका कुनै पनि खानेपानी आयोजना यति छोटो अवधिमा सम्पन्न नभएको दाबी गरे ।
कानेपोखरीका ट्युबवेल र इनार सुकेर यहाँका वासिन्दा काकाकुल बन्न लागेकोले सानो बस्ती भए पनि कानेपोखरी हाइवे क्षेत्र नै आफ्नो रोजाईमा परेको राईको भनाइ छ ।