विराटनगर । पाहुना टोलीलाई पन्छाउँदै आयोजक मिल्स भेट्रान क्लबले १ नम्बर प्रदेश स्तरीय प्रथम मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
विराटनगरको जुट मिल खेल मैदानमा शनिबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजकले दुलारी भेट्रान्स क्लबलाई ३–१ गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
सुरुआतबाटै दबाबमा राख्दै खेलको आयोजकका लागि सन्तोष चोङवाङले २ गोल र प्रकाश पौडेलले १ गोल गरेका थिए भने एकमात्र सन्तवना गोल दुलारीका लागि चुडामणि बस्नेतले गरे ।
७० मिनेटको खेलको १९ औं मिनेटमा आयोजकका प्रकाश पौडेलले गोल गर्दै टोलीलाई अग्रता दिलाए । २९ औं मिनेटमा सन्तोष चोङवाङले गोल टोलीलाई दोब्बर गोलको अग्रता दिलाए । २ गोललेपछि परेको दुलारीले मध्यान्तरपछि खेललाई केही सुधार गरेर खेले पनि नतिजा निकाल्न सकेन ।
३७ औं मिनेटमा सन्तोषले पुनः गोल गर्दै गोल संख्या बढाए । दुलारीका चुडामणि गौतमले ५७ औं मिनेटमा एक गोल फर्काए । म्यान अफ द म्याच आयोजकका सन्तोष चोङवाङ भए ।
प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १० वटा क्लबको सहभागिता छ । आयोजक क्लबसहित मोरङ विराटनगरको मर्निङ भेट्रान क्लब, विराटनगरको युनाइटेड भेट्रान क्लब, उर्लाबारीको राजघाट भेट्रान क्लब, दुलारीको दुलारी भेट्रान क्लब सहभागी छन् ।
यसैगरी सुनसरी दुहबीको दुहबी भेट्रान क्लब, धरानको हाम्रो धरान भेट्रान क्लब, भरौलको भरौल भेट्रान क्लब, झापा दमकको दमक–लखनपुर भेट्रान क्लब र विर्तामोडको विर्तामोड भेट्रान क्लबले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिताअनतर्गत आइतबारको खेल धरानको हाम्रो धरान भेट्रान र दमक–लखनपुर भेट्रानबीच प्रतिस्पर्धा हुनेछ ।