दुर्व्यवहारको विरोधमा भारतीय चालकहरुले प्रदर्शन गरेका थिए । उनीहरुले अवरोध गरेपछि पानीट्यांकीबाट काँकडभिट्टा नाका भएर भन्सार जाँचपासका लागि आउने दर्जनौं सवारीसाधन २ घण्टासम्म उतै रोकिन बाध्य भएका थिए । इन्धन लिएर आएका ३९ र ६० वटाभन्दा बढी साधन साँझ ७ बजेदेखि रोकिएका थिए ।
झापा प्रहरीका प्रवक्ता डीएसपी वसन्त पाठकका अनुसार इन्धनलगायत वस्तु लिएर नेपाल आइरहेका गाडीलाई भारतीय भूमिमै अवरोध गरिएको थियो । उनले अवरोधको कारणबारे भने अनभिज्ञता जनाए ।नेपालपट्टि भारतीय चालकमाथि दुर्व्यवहार रोकिनुपर्ने माग राख्दै आन्दोलन गरिएको थियो । दुवैतर्फका प्रहरी अधिकारीहरुले समन्वय गरी अवरोध हटाइएको थियो ।
स्रोतका अनुसार इटहरीस्थित राजस्व कार्यालय अगाडि कार्यालय प्रमुख तीर्थराज खनालले बिहीबार साँझ दुईवटा भारतीय पिकअप भ्यान रोक्न खोजेका थिए । हातले इरासा गर्दा पूर्वतर्फ जाँदै गरेका डब्लुबी ७३ इ ९०३६ र डब्लुबी ७४ जी १४२७ नम्बरका भ्यान वास्ता नगरी अघि बढेका थिए ।त्यसपछि कार्यालयको गाडीमा चढेर खनाल ती भ्यानको पछि लागेका थिए । तस्करीका सामान नेपाल भित्र्याएको भन्दै ती साधनलाई नियन्त्रणमा लिन झापा र मोरङका प्रहरीलाई उनले सूचित गरेका थिए ।
ट्राफिक प्रहरीले मोरङको बेलबारीमा गाडी नियन्त्रणमा लिएर जाँच गर्दा केही समान नभएको पाइएको थियो । त्यही बेला खनाल पुगेर डब्लु बी ७३ इ ९०३६ नम्बर पिकअपका चालक भारत दार्जिलिङका ३३ वर्षीय नारायण मोडकलाई हातपात गरेका थिए ।
अर्का चालक भने त्यहाँबाट भागेका थिए । दुबै पिकअपलाई दुई दिनसम्म राजस्व कार्यालयमा राखेर शनिबार दिउँसो छाडिएको थियो । प्रहरीका अनुसार चालक मोडकले कतै जानका लागि यात्रीले गाडी रोक्न इसारा गरेजस्तो लागेर गाडी नरोकेको बताएका छन् ।
खनालसहित राजस्वको टोलीले गत बुधबार राति बेलबारीस्थित भाउन्नेबाट तरकारी र फलफूल बोकेका ४ वटा भारतीय गाडी नियन्त्रणमा लिएको थियो ।
कार्यालय प्रमुख खनालले भने तस्करीमा संलग्न भएको र अवैध हिसाबले नेपाल छिरेका कारण भारतीय गाडीलाई नियन्त्रणमा लिएको दावी गरेका छन् ।
दुर्व्यवहार नगरेको भन्दै उनले गाडीले ड्युटीमा खटिएका प्रहरीलाई ठक्कर दिन खोजेको बताए ।