यसका लागि टोल–फ्री (टेलिफोन गर्दा शुल्क नलाग्ने) नम्बर व्यवस्था गरिएको छ । नगरवासीले अब आफ्ना गुनासाहरु १६६०२१४२२२२ नम्बरमा टिपाउन सक्ने मेयर नागेश कोइरालाले जानकारी दिए ।
यो सेवा चौबीसै घण्टा खु्ला रहने भएकाले कुनै पनि बेला गुनासा र सुझावहरु दिन सकिने छ । ‘महानगरवासीले महानगरसँग सम्बन्धित जुनसुकै समस्या र गुनासा हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्नुहुनेछ’ कोइरालाले भने, ‘गुनासाहरु संकलन गरी सम्बन्धित महाशाखा र शाखामार्फत प्राथमिकताका आधारमा सम्बोधन गरिनेछ ।’यसैगरी महानगरको काम, कारबाहीका सम्बन्धमा सुझाव पनि दिन सकिने जनाइएको छ । गुनासो र सुझाव महानगरको इमेल ठेगानामा पनि पठाउन सकिने छ । यो सेवा औपचारिक रुपमा सुरु गरिनुअघि केही साता परीक्षण गरिएको मेयर कोइरालाले बताए ।
लिखित रुपमा सुझाव र गुनासो दिनका लागि महानगरको इमेल ठेगाना हो– gunaso@biratnagrmun.gov.npशनिबारबाट सेवा औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो । हटलाइनको व्यवस्थापनको जिम्मा नगर प्रहरीलाई दिइएको छ ।
उपमेयर शिल्पा निराला कार्कीका अनुसार हटलाइनमार्फत आएका गुनासा र सुझाव नगर प्रहरीले टिपोर्ट गरेर मेयर र उपमेयरसहित सम्बन्धित महाशाखा र शाखा प्रमुखलाई उपलब्ध गराउनेछन् ।
गुनासो शाखामा नियमित रुपमा बसेर जानाकारी लिन नगर प्रहरी शारदा यादवलाई जिम्मेवारी दिइएको छ ।
शनिबार अपराह्न उनलाई पालो दिन बसेका नगर प्रहरीका हवल्दार शम्भु घिमिरेका अनुसार नगरवासीले आफ्ना गुनासो टेलिफोन मार्फत् टिपाउन थालेका छन् । प्रारम्भिक चरणमा आएका गुनासाहरुमा सडक अव्यवस्थित भएको, सडकमा खाल्डाखुल्डी भएर आउजाउमा समस्या परेकाले मर्मत गरिदिने जस्ता छन् ।
घिमिरेका अनुसार सडक बत्ती नबल्ने, पानी जमेर टोलमा समस्या पर्ने गरेको जस्ता गुनासाहरु पनि आइरहेका छन् ।