विराटनगर । कृषि तथा औद्योगिक प्रदर्शनी आयोजना गर्न विभिन्न संस्थाबीच प्रतिस्पर्धा देखिएको छ । प्रदर्शनी आयोजनाका लागि नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ र विराट व्यापार संघबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको छ । विराटनगरमा बर्सेनि मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आलोपालो महोत्सव आयोजना गर्दै आएका थिए ।

नियमित रुपमा विराटनगरमा मेला आयोजना गर्दै आएका मोरङ व्यापार संघ र उद्योग संगठनबाहेक यसपटक विराट व्यापार संघ र नेपाल उद्योग परिसंघ पनि थपिएका छन् । यसपटक विराटनगरका लागि उद्योगी व्यवसायीको नयाँ संगठन नेपाल उद्योग परिसंघले मेला आयोजना गर्ने भनेर पत्रकार सम्मेलन आयोजना गरेपछि विवाद सुरु भएको छ ।

विगतको आलोपालो गर्ने सम्झौताबमोजिम यस वर्ष उद्योग संगठनको पालो थियो । माघ अन्तिममा मेलाको योजना बनाउँदै गर्दा त्यसअघि नै परिसंघले पत्रकार सम्मेलन गरेर माघ १९ देखि २८ गतेसम्म ‘सिएनआइ एक्पो’ आयोजना गर्ने मिति सार्वजनिक गरेपछि तीनवटा व्यापारिक व्यवसायी संगठनबीच विवाद सुरु भएको हो ।

अर्कोतर्फ, उद्योग संगठनले पनि माघ २६ गतेबाट फागुन ३ गतेसम्म ‘विराट एक्स्पो’ र विराट व्यापार संघले पनि मिति तय नभए पनि चाँडै नै मिति तय गरेर ‘विराट महोत्सव’ आयोजना गर्ने तयारी थालेको छ । तीनवटै संस्थाले आयोजना गर्न लागेको मेलाको मुख्य उद्देश्य कृषि र औद्योगिक प्रदर्शनी नै हो ।

परिसंघले भने पहिलो पटक मेलाका रुपमा अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआइ एक्स्पो’ गर्ने भएको हो । परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरेले १० दिनसम्म हुने एक्स्पोमा कृषि एवं औद्योगिक मेसिनरीको प्रदर्शनी तथा बिक्री वितरण हुने जानकारी दिए । प्रदर्शनीले कृषि आधुनिकीकरण, नयाँ प्रविधिको पहिचान, स्वदेशी उत्पादनको प्रवद्र्धन र पर्यटन विकासमा टेवा पुर्‍याउने लक्ष्य लिएको छ ।

मेलाका संयोजक राजेन्द्र राठीले स्थानीय उत्पादनलाई प्राथमिकता दिइने प्रदर्शनीमा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरू हुने बताए । औद्योगिक उत्पादन, कृषिका आधुनिक यन्त्र उपकरणहरू अटो मोबाइल्स, उत्पादन र सेवामूलक उद्योगका सामग्री शैक्षिकलगायतको स्टल रहने छन् । करिब ५० करोड रुपैयाँ बराबरको कारोबारको लक्ष्य लिएको प्रदर्शनीमा ३ सय ५० स्टलमा स्थानीयसँगै भारत, पाकिस्तान, चीन र बंगलादेशका सामग्री हुन्छ ।

उद्योग संगठन मोरङले परिसंघको प्रदर्शनी सकिनु दुई दिन अघिबाट ‘विराट एक्स्पो’ लाई निरन्तरता दिनेछ । संगठनका महानिर्देशक चुडामणि भट्टराईले  संगठनले नियमित रुपमा गर्दै आएको प्रदर्शनी (मेला)लाई निरन्तरता दिन लागेको बताए । यस पटक हाम्रो संगठनको मेला लगाउने पालो भएकाले माघको अन्तिमका लागि तयारी थालिसकेका छौं ।’

संगठन र मोरङ व्यापार संघले प्रत्येक वर्ष आलोपालोमा प्रदर्शनी गर्ने योजनाअनुसार नै माघको अन्तिम सधैँ मेला लगाउने गरिएको बताउँदै, भट्टराईले भने, ‘त्यसअनुरुप यसअघि व्यापार संघले लगाएको भएर यस पटक हामीले माघ २६ देखि फागुन ३ गतेसम्म मेला लगाउनका लागि तयारी थालिसकेका छौं । आयल निगम अगाडिको जग्गामा मेला लाग्ने र यसका लागि आवश्यक प्रयोजकलगायतको व्यवस्थापन भइरहेको छ ।’

प्रदर्शनीमा ४ सय स्टल रहने गरी संगठनले आन्तरिक तयारी सुरु गरिसकेको छ । प्रदर्शनीमा विभिन्न १० राष्ट्रका ३ सय बढी उद्योग तथा कम्पनीको उत्पादन रहने संगठनले जनाएको छ । संगठनले २०५३ सालमा पहिलो पटक ‘कोसी महोत्सव’ बाट प्रदर्शनीको सुरुआत गरेको हो ।

त्यसपछि २०५७ सालमा पूर्वाञ्चल व्यापार मेला, २०६२ सालमा कृषि यान्त्रिक तथा प्रविधि प्रदर्शनी आयोजना गरिएको थियो । त्यसपछि २०६६, २०७३ र २०७६ सालमा प्रदर्शनी मेलाको आयोजना गरिसकेको छ ।

परिसंघका अध्यक्ष भीम घिमिरे तत्कालीन उद्योग संगठनको अध्यक्ष हुँदा नै व्यापार संघसँग प्रत्येक वर्ष आलोपालोमा मेला आयोजना गर्ने भद्र सहमति भएको थियो । त्यस सहमतिअनुसार नै दुवै संस्थाको सहयोगमा मेला आयोजना गर्दै आएका थिए ।

परिसंघले विराटनगरमा लगाउन लागेको मेलामा विराटनगरकै अर्को व्यापारिक संस्था विराट व्यापार संघले आपत्ति जनाएको छ । परिसंघले विराट व्यापार संघलाई जानकारी नगरी सहयोगी संस्थाका रुपमा राखेको पत्रकार सम्मेलन गरेको भन्दै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

उसले विज्ञप्तिमा भनेको छ, निकट भविष्यमा संघले एकल वा अन्य शुभेच्छुक संघ संगठनको सहकार्यमा छुट्टै औद्योगिक महोत्सव गर्ने निर्णय भई सोही बमोजिम मेला तयारी तथा व्यवस्थापन समितिसमेत गठन भई कार्य भइरहेको छ ।

‘हाम्रो कार्य समितिले महोत्सव लगाउनका लागि आवश्यक पर्ने तयारी गर्न एउटा कार्य दल बनाएको छ,’ विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीले भने, ‘उक्त कार्य दलले असोज १० गतेभित्र सम्पूर्ण कामको प्रतिवेदन बुझाउने छ । त्यसका आधारमा हामीले महोत्सवको मिति घोषणा गर्ने छौं । यसअघि लाग्दै आएको मेलामा कसैले पनि हामीलाई सहकार्य गरेनन् ।’

अरु समयमा लाग्दै आएको मेलामा कसैले पनि सहकार्य नगराएकाले पनि हाम्रो संस्थाले छुट्टै मेला आयोजना गर्नुपर्छ भनेर कार्य दल बनाई काम अघि बढाएको खत्रीले बताए । ‘हाम्रो संस्थाको नाम ‘विराट व्यापार संघ’ हो,’ अध्यक्ष खत्रीले भने, ‘त्यही भएर हाम्रो महोत्सवको नाम पनि ‘विराट महोत्सव’ हो । यस नामबाटै हामी पनि मेला आयोजना गर्ने छौं ।’ १० वर्षअघि हाम्रो संस्थाले ‘विराट महोत्सव’ आयोजना गरिसकेकाले पनि यस वर्ष यही नामबाट मेला आयोजना हुन्छ ।

‘हाम्रो अन्य कुनै पनि व्यापारिक संघसंस्थासँग मनमुटाव वा कुनै नराम्रो सम्बन्ध छैन र हुने पनि छैन,’ अध्यक्ष खत्रीले भने, ‘परिसंघले हामीलाई सोधेको भए प्रष्ट भन्ने थियौं । हामीले पनि मेला तयारी गरिरहेको छौं भनेर । हाम्रो संस्थाले गर्न लागेको मेलामा उहाँलगायत सम्पूर्ण उद्योगी, व्यवसायीलगायत सबै संस्थाको सहयोग हुनेछ र त्यसका आधारमा सहकार्य गर्दै अघि बढ्छौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु