काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान औपचारिक कार्यक्रमको आयोजना गरेर ट्रफी सार्वजनिक गरिएको हो ।  कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, पर्यटन, नागरिक उड्डयनमन्त्री तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव टंकलाल घिसिङ लगायतको उपस्थिति रहेको थियो ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाईएको हो । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफुसँग राख्न पाउनेछ ।

अब नवौंको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागिय टोलीमा पुर्याईने छ । ट्रफी टुर अन्तर्गत शुक्रबार साँझ सुदुरपश्चिमको धनगढी पुर्याईने छ । शनिबार धनगढी रंगशालामा प्रदर्शनी गरिनेछ ।

यस्तै असोज २ गते लुम्बिनीको एन्फा टेक्निकल सेन्टर र गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिरमा प्रदर्शनी गरिनेछ ।

असोज ३ गते बागमती प्रदेशको हेटौडा,  असोज ७ गते नेपाली सेना मुख्यालय जंगी अड्डा, असोज ८ गते प्रदेश १ को विराटनगर, असोज ९ गते नेपाल प्रहरीको हेडक्वाटर नक्साल, सशस्त्र प्रहरीको हलचोक पुर्याईने छ ।

असोज ११ गते कर्णालीको सुर्खेत, असोज १३ गते मधेश प्रदेश रामजानकी मन्दिर र असोज २३ गते गण्डकी प्रदेशको पोखरा पुर्याईने छ ।  पोखरामा एयरपोर्टबाटै झाँकीसहित ट्रफी टुर गराईनेछ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५ सदस्सीय ट्रफी टुर कार्यदल गठन गरेको छ ।

कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य रहेका छन् ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो । प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एक एनआरएनए गरि ११ टिमले सहभागीता जनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु