विराटनगर । स्वास्थ्य सेवा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्राध्यापक डा. गोविन्द केसीसँग सरकारले वार्ता गर्ने भएको छ । यसका लागि सरकारले वार्ता टोली गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन गरेको हो।
चिकित्सक संघका प्रतिनिधिलाई भने डा केसी र सरकार दुवैको मध्यस्थता गर्ने गरी टोलीमा राखिएको बताइएको छ।
वार्ता टोली गठनसँगै सरकारले डा केसीलाई अनसन तोड्न आग्रह गरेको छ।
डा. केसी विभिन्न सात बुँदे माग राखेर धनगढीमा ६ दिनदेखि अनसनमा छन्। सरकारले वार्ता टोली गठन गरेसँगै डा. केसीका तर्फबाट पनि वार्ता टोली गठन भएको छ।
डा. केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ओम प्रकाश अर्याल, डा. लिजन महर्जन र प्रितम सुवेदी सदस्य रहेको टोली बनाइएको छ।