काठमाडौं। विश्वभर उमेर पुगेका २२ करोड २० लाख बालबालिका विद्यालय जानबाट वञ्चित रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघले प्रकाशित गरेको एउटा प्रतिवेदनमा यस्तो जानकारी दिइएको हो।
दीर्घकालीन द्वन्द्व, आपतकालीन परिस्थिति, खडेरी, गरिबी जस्ता विभिन्न कारणले ती बालबालिका विद्यालय जान नपाएको प्रतिवेदनमा उल्लेख छ।
सन् २०१६ मा विद्यालय उमेर भएर पनि विद्यालय जान नपाएकाहरुको संख्या सात करोड ५० लाख थियो।
विद्यालय जान नपाएका बालबालिकामा ५४ प्रतिशत बालिका छन्। १७ प्रतिशत विस्थापित भएका कारण विद्यालय जान नपाएका हुन्।
राष्ट्र संघको विश्वव्यापी शिक्षा कोष (इसीडब्लु) को प्रतिवेदनमा सशस्त्र द्वन्द्व र जबर्जस्ती विस्थापनपछि जलवायु परिवर्तनका कारण सिर्जित प्रकोप तथा दीर्घकालीन संकटले बालबालिका विद्यालय जानबाट वञ्चित रहेको देखाएको छ।
विद्यालय जान नपाउने बालबालिकाको झण्डै दुई तिहाई संख्या अफगानिस्तान, कंगो, इथियोपिया, माली, नाइजेरिया, सोमालिया, दक्षिण सुडान, सुडान, पाकिस्तान, यमन लगायत द्वन्द्व ग्रस्त मुलुकको छ।