‘कुकुर फुस्किएछ है बैनी।’
पल्लो घरका देवराज सरले वल्लो घरसम्मै सुनिञ्जेल कराउनु भयो। सरको बोली सुनेर हो कि छतबाट झन् कस्सिकस्सी भुक्न थाल्यो। दुई तलामाथि छतबाटै झरुलाझैँ गरेर कुकुर झनझन उफ्रिरहेको थियो।
‘बैनी, कुकुर बाँध्नु न छिटो।’
देवराज सर शिलुको घरैभित्र पस्दै बोल्नु भयो।
‘हैन कति डराउनु भएको हो सर? भुके पनि छतबाट झरी त हाल्दैन नि हौ!’
उनले अलि झर्किदै भनिन्।
पाँच–छजना साथीहरू आएकाले उनी बैठक कोठामा गफिँदै थिइन्।
‘के बेर?’
सर दिक्क मान्दै फर्किनु भयो।
‘कुकुर पनि कस्तो छ भने नि सेता मान्छेलाई केही गर्दैन। कालालाई चाहिँ देखी सहँदैन।’
शिलुले साथीहरूलाई सुनाइन्।
लौ अचम्मै भन्दै साथीहरू गललल्ल हाँसे।
त्यतिमध्येमा दुईजना काला रहेछन्। एउटीले भनिन्, ‘लु है तिमी र मैले चाहिँ कुकुरसँग मीत लगाउनु पर्ने रहेछ।’ अर्कीले ठट्टा गर्दै भनिन्, ‘ल ल कुम जोडेरै लगाऔं।
शिलुले कथा सुनाइन्, ‘पोहोर साल दसैँ छेकको कुरो हो। बिहानै एकजना छिमेकी कुकुर डुलाउँदै हिँड्दै रहेछन्। उनको कुकुरले मुखमा निकै ठूलो हड्डी च्यापेको रहेछ। त्यो देखेर यो त सिधै जाइलागेछ। यसले उसको मुखबाट हड्डी लुछेरै छोडेछ। यता आँगनमा बसेर यसले हड्डी चपाउन थालेछ। उता उनको कुकुरलाई पनि त्यो हड्डी नभई भएन। उनको पालो यसलाई झट्टीले हानेरै हड्डी उम्काएरै छोडेछन्। अनि आफ्नो कुकुरलाई दिएछन्। त्यो दिनदेखि कुकुरले कालो मान्छे देख्यो कि जाइलागिहाल्छ। एक वर्ष भएको छैन तीनजनालाई टोकिसक्यो।’
‘हड्डी खोस्ने मान्छे काला थिए कि क्याहो साथी?’
एउटीले सोधी।
‘ठयाक्कै मिलाउनु भयो।’
हाँसोको फोहोरा फुट्यो।
तीमध्ये कसैले भन्यो, ‘मुखबाट हड्डी खोस्नेलाई मान्छेले त के कुकुरले पूजा गरोस् त!’
अब चाहिँ हाँसोका फोहोराले कुकुर भुकेकै सुनिएन।