विराटनगर । चीनले नेपाली तयारी चिया आयात गर्ने सम्भावना देखिएको छ ।
परराष्ट्रमन्त्री नारायण खड्काको हालैको चीन भ्रमणका बेला नेपाली चिया आयात गर्नेबारे कुराकानी भएको थियो ।
त्यस क्रममा चीन नेपाली चिया आयात गर्न सकारात्मक रुपमा प्रस्तुत भएको जनाइएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु भट्टराईका अनुसार अब चीनमा नेपाली चिया निर्यात गर्ने बाटो खुल्ने सम्भावना बढेको छ ।
नेपाल–चीन द्विपक्षीय बैठकमा नेपालले तयारी चिया निर्यातका लागि राखेको प्रस्तावमा चीनले सहमति जनाएको उनको भनाइ छ ।
सहमतिअनुसार अब नेपाली चिया चीन निर्यात गर्न मापदण्ड तयार गर्ने बाटो खुलेको भट्टराईले बताए ।
चीनमा नेपाली चियाको ठूलो बजार सम्भावना भएकाले बोर्डले नेपाल–चीन जि टु जी (सरकार–सरकार सम्झौता) का लागि आग्रह गर्दै आएको थियो ।
नेपालमा वार्षिक उत्पादन हुने सवा २ करोड किलोभन्दा बढी तयारी चियाको ८० प्रतिशत बजार भारत हो । केही चिया स्वदेशमै खपत हुन्छ भने अरू तेस्रो मुलुक निर्यात हुन्छ ।
भारतले विभिन्न कारण देखाउँदै पटक पटक नेपाली चिया आयात रोक्ने प्रयास गर्दै आएको छ ।
गुणस्तरीय नभएको भन्दै नेपाली चिया आयातमा ४० प्रतिशतसम्म कर लगाउने गरी भारतको लोकसभा र राज्यसभामा प्रस्ताव उठेको छ ।
त्यहाँका ३० सांसदले राज्यसभा र लोकसभा अध्यक्षलाई नेपाली चिया आयात निरुत्साहित गर्ने प्रस्तावसहितको प्रतिवेदन बुुझाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु