विराटनगर । भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने राष्ट्रसंघले जनाएको छ। हालसम्म सबैभन्दा बढी जनसंख्या भएको देश चीन मानिन्छ। अर्को वर्ष भारतले चीनलाई उछिन्ने राष्ट्रसंघको भनाइ छ।
चीनको जनसंख्या १.४ अर्बभन्दा बढी छ। भारतको पनि १.४ अर्बभन्दा बढी जनसंख्या पुगिसकेको छ। तर चीनको तुलनामा भारतको जनसंख्या हाल कम छ।
यो वर्षको नोभेम्बरसम्म विश्वको जनसंख्या ८ अर्ब हुने जनाइएको छ।
जनसंख्या वृद्धिदर अहिले सन् १९५० पछि सबैभन्दा सुस्तदरमा रहेको राष्ट्रसंघले जनाएको छ।
सन् २०८० सम्ममा १० दशमलव ४ अर्ब हुने राष्ट्रसंघले प्रक्षेपण गरेको छ।
विश्वको जनसंख्या असमान रूपमा विस्तार भइरहेको छ।
आगामी ३० वर्षमा आधाभन्दा बढी जनसंख्या डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानियामा मात्र हुने उल्लेख गरिएको छ।
विश्वका सबैभन्दा विकसित अर्थतन्त्र भएका देशहरूमध्ये केहीले यसअघि नै जनसंख्यामा गिरावट देखिरहेका छन्। ती देशहरूमा जन्मदर घटिरहेको छ।
प्रतिवेदनअनुसार सन् २०५० सम्ममा ६१ देशमा जनसंख्या कम्तीमा १ प्रतिशतले घट्नेछ।
आगामी वर्षदेखि चीनको जनसंख्या घट्ने अनुमान गरिएको छ। त्यहाँको सरकारले सन् २०१६ देखि एक सन्तान नीति त्यागे पनि जनसंख्यामा उल्लेख्य वृद्धि हुन सकेको छैन।
चीनलाई उछिन्दै भारत बढी जनसंख्या भएको मुलुक बन्ने
3
Shares
३१ भाद्र २०७९, शुक्रबार ०७:३२