विराटनगर । अन्तरिक्षसम्बन्धी काम गर्ने अमेरिकी निकाय ‘नासा’ ले चन्द्रमामा फेरि मानिस पठाउने भएको छ। यसका लागि निर्माण गरेको रकेट प्रक्षेपणको तयारी थालिएको छ।
‘स्पेस लन्च सिस्टम’ (एसएलएस) रकेटलाई फ्लोरिडामा रहेको केनडी स्पेस सेन्टरमा लगिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
त्यहाँबाट रकेट अगस्ट २९ मा पहिलो पटक उड्ने जनाइएको छ।
उक्त परीक्षण उडानमा चालक दलका कोही पनि सदस्य रहने छैनन्। तर पछि एसएलएस रकेट प्रयोग गरेर अमेरिकाले ५० वर्षपछि चन्द्रमामा पहिलो पटक अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ।
यो नासाका लागि एउटा महत्त्वपूर्ण क्षण मानिएको छ। आउँदो डिसेम्बरमा अमेरिकाले अन्तिम पटक चन्द्रमामा सफलतापूर्वक मानव अवतरण गराएको अपोलो–१७ अभियानको ५०औँ वार्षिकोत्सव मनाउन लागेको बीबीसीले जनाएको छ।
नासाले नयाँ आर्टमिस कार्यक्रमसहित अन्तरिक्ष अभियानमा पुनः सहभागी हुने र आधुनिक युगलाई लाभ दिने प्रविधिको प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
आर्टमिस ग्रीक देवता अपोलोकी जुम्ल्याहा बहिनीको नाम हो र उनलाई चन्द्रमाकी देवी पनि मानिन्छ।
नासाले आफ्नो चन्द्र अभियानलाई सन् २०३० वा त्यसको केही समयपछि मङ्गल ग्रहमा अन्तरिक्षयात्रीहरू पठाउने आफ्नो तयारीसँग जोडेर हेरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु