विराटनगर । जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ।
केही समययता सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको तर जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने डब्लुएचओले उल्लेख गरेको छ।
संक्रमित बढेसँगै कोभिडका सङ्क्रमितको मृत्यु दर तथा उनीहरु अस्पताल भर्ना हुने दर पनि वृद्धि हुन सक्ने जनाइएको छ।
डब्लुएचओका महानिर्देशक टेड्रोस आधनम ग्याब्रेसियसले बुधबार जेनेभामा पत्रकारसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन्।
अहिले कोरोना भाइरसको घट्दो दर रहेपनि अबका दिनमा आउने चिसो मौसममा भने सङ्क्रमणको असरअझ बढी देखिन सक्ने उनको भनाइ छ।
आगामी दिनमा पर्न सक्ने असरबारे बेलैमा तयारी गर्नुपर्ने पनि उनले बताएका छन्।
पछिल्ला दिन विश्वमा सङ्क्रमण घट्दै गएको तथ्याङ्कले देखाउँछ। साप्ताहिक रुपमा गरिने यसको गणनाअनुसार पछिल्लो हप्तामा यसको सङ्क्रमण ५३ लाख मानिसमा भएको देखिएको छ।
अहिले कोरोना भाइरसको सङ्क्रमण घट्दै गए पनि जाडो मौसममा हुनसक्ने यसको असरलाई मध्यनजर गरेर सतर्कता अपनाउनुपर्ने महानिर्देशक ग्याबे्रसियसले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
3
Shares
३१ भाद्र २०७९, शुक्रबार ०७:२३