काठमाडौं। क्यानाडालगायत विभिन्न मुलुकमा नर्स र अरु स्वास्थ्यकर्मीको माग निकै छ। अमेरिका र अरु देशहरुमा पनि माग बढ्दो रहेको छ। माग रहेका देशहरुमा नेपाली नर्सहरु जाने क्रम पनि बढिरहेको छ।

हालैमात्र बेलायतमा २०० जना नेपाली नर्स पठाउने सहमति भएको छ। पहिलो चरणमा त्यति संख्यामा जाने भए पनि आगामी दिनमा अरु थप जाने प्रक्रिया सुरु भइसकेको छ।
नेपाल नर्सिङ काउन्सिको तथ्यांकअनुसार साउनसम्म २७ हजार ४७२ जनाले अनुमति लिएका छन्। वैदेशिक रोजगारीका लागि जान भन्दै उनीहरूले काउन्सिलबाट अनुमति लिएका हुन्।

२०७८ को वैशाखदेखि चैतसम्म ५ हजार ९३ जनाले ‘गुड स्ट्याण्डिङ सर्टिफिकेट (जीएसआर) लिएका छन्।
साउन १ हजार ७०४ जनाले जीएआर लिएको काउन्सिलले जनाएको छ। अनुमति लिएका सबै विदेश गए,नगएको भन्ने तथ्यांक भने नरहेको काउन्सिलको भनाइ छ।

नेपालबाट प्रत्येक वर्ष ५०० भन्दा बढी नर्सहरू अमेरिका जाने गरेका छन्। अमेरिका जाने नर्सहरूको यतैबाट ‘पीआर’ को टुंगो लाग्ने गरेको छ। बेलायत, क्यानाडा तथा खाडी मुलुक जाने नर्सहरू नेपाल फर्किने आधार रहन्छ भने अमेरिका गएकाहरूको नेपालबाटै पीआर फिक्स भएकाले फर्किन अवस्था नरहने जनाइएको छ।

अष्ट्रेलिया, क्यानाडा, नर्बे, डेनमार्क, न्युजिल्याण्डलगायत देशमा नेपाली नर्सहरूको आकर्षण छ। खाडी मुलुकमा समेत नेपाली नर्सहरूको आकर्षण र माग बढ्दो क्रममा रहेको नेपाल नर्सिङ संघकी अध्यक्ष प्रोफेसर मनकुमारी राईको भनाइ छ।

खाडी मुलुकहरूमा अन्य अदक्ष तथा अर्धदक्ष कामदारको तुलनामा नर्सहरूलाई सेवासुविधा राम्रो रहेको राईले बताइन्। नेपाली नर्सहरूले दुबईका लागि डीएचए (दुबई हेल्थ एथोरेटी) ले लिने परीक्षा पास गर्नुपर्छ।

त्यसपछि मात्रै नर्सहरूले काम गर्ने मौका पाउनेछन्। नर्सिङ परिषदमा ८ सेप्टेम्बर २०२२ सम्म ७२ हजार ५५० नर्स दर्ता छन्। त्यस्तै ३६ हजार ८५३ अनमी छन्। ६४५ जना विशेषज्ञ नर्स छन् भने ८४८ जना विदेशी नर्स समेत दर्ता छन्।

तीमध्ये हालसम्म २३ हजार ४१७ जना नर्सले मात्र आफ्नो लाइसेन्स नवीकरण गरेको देखिएको छ। त्यस्तै ११ हजार ४०७ जना अनमीले आफ्नो लाइसेन्स नवीकरण गरेका छन्।

नर्सहरूले नेपालको निजी क्षेत्रमा काम गर्दा मासिक १० देखि १५ हजारमा काम गर्न बाध्य छन्। लाखौं खर्च गरेर पढ्दा १०/१५ हजारको जागिर पाइने भएपछि उनीहरू विदेश पलायन हुन थालेको अध्यक्ष राईको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु