काठमाडौं। अष्ट्रेलियामा कामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको छ। त्यहाँ कार्यरत कामदारहरुले पाउँदै आएको पारिश्रमिकमा ५.२ प्रतिशतले बृद्धि गरिएको हो। यसबाट नेपालीलगायत अरु देशबाट गएर काम गरिरहेका कामदारहरु पनि लाभान्वित हुने भएका छन्।
उपभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सुविधा बृद्धि गरिएको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन्।
अष्ट्रेलियाको स्वतन्त्र कार्य आयोग (एफडब्लुसी) ले बुधबार घोषणा गरेको न्यूनतम पारिश्रमिकअनुसार कामदारहरुको अबको न्यूनतम पारिश्रमिक २१.३८ अष्ट्रेलियन डलर हुने भएको छ।
यसअघि न्यूनतम पारिश्रमिक प्रतिघण्टा २०.३३ अष्ट्रेलियन डलर थियो।
अब हरेक कामदारले हप्तामा ४० अष्ट्रेलियन डलर थप कमाउन सक्ने आयोगका अधिकारीहरुले जानकारी दिएका छन्।
आयोगको यस निर्णयले अष्ट्रेलियाका झण्डै २७ लाख कामदारलाई प्रभावित पार्ने भएको छ।
पारिश्रमिक अति न्युन हुँदा दैनिकी चलाउनै गाह्रो भएकाले बढाउन माग हुँदै आएको थियो।
अष्ट्रेलियामा नेपालीको संख्या कति छ भन्ने यकिन छैन। सन् २०१७ को अष्ट्रेलियन सरकारको जनगणनाअनुसार ७३ हजार ७४० जना नेपालमा जन्मेका व्यक्ति त्यहाँ बसोबास गरिरहेको तथ्यांक छ।
अध्यागमन विभागको आधारमा ४ जनवरी २०२० सम्म ६२ हजार सात सय २४ नेपालीले अस्ट्रेलियामा स्थायी बसोबास गरिसकेको तथ्यांक छ।
नेपाली विद्यार्थी र त्यहाँका नेपाली मूलका स्थायी वासिन्दा गरी एक लाख २५ हजार नेपाली भएको अनुमान छ।

3
Shares
३१ भाद्र २०७९, शुक्रबार ०७:१४