लक्ष्मी लम्साल खनाल
समाजमा सबैको आ–आफ्नो दायित्व हुन्छ। एउटा व्यक्ति, परिवार, टोल, समाज अनि समुदाय सबैले जिम्मेवारी र दायित्व बुझेर त्यसैअनुसार अघि बढे शान्ति र अमन चयन कायम रहन्छ। यसो नगरे अराजकता निम्तन सक्छ। यसले व्यक्तिदेखि लिएर समग्र समाजमै नकारात्मक प्रभाव पार्न सक्छ।
देश विकासका लागि जनता, नेता, कलाकार, पत्रकार, न्यायाधीश सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्नुपर्छ। जनता भएर कुनै नेताको प्रलभोनमा नपर्नु, कानुनको सही सदुपयोग गर्नु, घुस लिने–दिने र अपराध गर्नैलाई कानुनी दायरामा पुर्याउन सहयोग गर्नुपर्छ।
पैसाको प्रलभोनमा परेर अपराधमूलक कार्यमा नफस्नु, सबै जनता एक हौं भन्ने भावना जगाउनु जस्ता दायित्व बोकेको हुनु पर्दछ भने नेता भएर जनताको भावना बुझ्ने, कानुनविरूद्धका कार्यहरू नगर्ने, देशमा विदेशीहरूको लोभी नजर पर्न नदिनु, आफ्नो स्वार्थको लागि मात्र नभई देशको जिम्मेवारी बहन गर्नै खालको हुनुपर्दछ।
एक पत्रकारमा हुनु पर्ने गुणहरु भनेको समाजमा घटेका घटनाको सत्य तथ्य कुरालाई मात्र सम्प्रेषण गर्नु, राजनीति, मनोरन्जन, शिक्षा, रोजगार, धार्मिक, सांस्कृतिक कुरा, खेलकुद आदिलाई पनि मुख्य समाचारको रूपमा सम्प्रेषण गर्नु, भाइरल बनी पैसाको प्रलभोनमा फसी बढाईंचढाइँ गरी सुन्दा असहज लाग्ने समाचार प्रसारण नगर्नु जस्ता कुराहरू पर्छन्।
कानुन सबैमा लागू हुन्छ भन्ने मान्यतालाई पालना गर्दै न्यायाधीशले घुसखोरी नगरी सत्यलाई न्याय दिनु महत्वपूर्ण जिम्मेवारी हो।
देश विकास नहुनुमा धेरै कुराहरूले प्रभाव पारेको हुन्छ। देशमा एक कलाकार भएर कानुनी नियमको पालना नगर्नु, अनुशासित नबन्नु, नैतिकवान नहुनु, अन्याय वा पीडितमा परेकालाई सहयोग नगर्नु आदि जस्ता कुराहरू नकारात्मक हुन्।
देश विकासमा हरेक व्यक्तिको महत्वपूर्ण भूमिका हुन्छ। देश विकासमा आर्थिक, राजनैतिक, सामाजिक सांस्कृतिक-परम्परा आदिले महत्वपूर्ण भूमिका खेल्दछ।
गाँस, वास, कपास, शिक्षा, रोजगार, मान सम्मान, इज्जत आदि हुन आवश्यक हुन्छ। कुनै पनि व्यक्तिको व्यक्तित्व विकास घरबाटै शुरू हुन्छ।
घरमा कस्तो किसिमको वातावरण छ, जस्तो– महिला पुरूषबीच एकअर्कामा मानसम्मान, मनमुटाव, दबाव, साथ सहयोग जस्ता कुरा कसरी सामान्जस्य भएको छ वा त्यस्ता कुराले कस्तो प्रभाव पारेको छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ।
त्यसैगरी समाजमा उसको योगदान, मानसम्मान, इज्जतले उसको व्यक्तित्व विकासमा धेरै प्रभाव पार्दछ।
पितृसत्ता समाजमा महिला पुरूषबीच धेरै असमानता पाउन सकिन्छ। विगतका दिनहरुमा भन्दा त धैरे परिवर्तन भएको छ तर पनि महिला अझै पुरूष सरहको तहमा पुग्न सकेको देखिंदैन।
उखानमा त छ, नारी पुरूष एउटै रथका दुई पाग्रा हुन् भनिन्छ। नारी र पुरूषको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ पनि भनिन्छ। व्यवहारमा भने लागू हुन सकेको देखिंदैन।
समाजमा महिला भएर सधैँ झुक्नु पर्छ। खुट्टाभए जुत्ता कत्ति कत्ति। एउटा घर बनाउनु र बिगार्नुमा महिलाकै हात। कुनै पुरूष विग्रनु पनि महिलाकै हात। पुरूष भएर झुक्नु हुन्न।
मर्दका दशवटी पनि हुन्छन् भन्नु, पुरूषलाई सूर्यसँग तुलना गरी केही समयमा ग्रहण लागेर केही हुन्न भनेर अन्याय गरे पनि आफूलाई निर्दोष सावित गर्न खोज्नु, महिलाले घर र माइती दुवैतिर स्वतन्त्र रूपमा सम्पत्तिमा हक नपाउनु जस्ता अन्यायपूर्ण चलन छन्।
महिला आफू स्वयंमा आत्मबल दह्रो नहुनु, अर्कामा भर पर्नु, शिक्षित नहुनु, बिना प्रमाण महिला भएर महिलाकै विरूद्ध लागि पर्नु, कानुनको राम्रो जानकारी नहुनु, आफ्नो नुनको मात्र सोझो गर्नु, कुनै कुनै महिला पुरूष दुवैले सत्मार्गको बाटो नसमाउनु, कानुनको सही सदुपयोग हुन नसक्नु जस्ता विविध कारणहरुले गर्दा समाजमा लैंगिक समानता नभएको देखिन्छ।
‘लैंगिक विश्लेषण’ पुस्तकमा उल्लेखगरिएअनुसार महिलावादीहरुले महिला महिलाबीच समानता नहुनु, महिला महिलाकै विरूद्दमा लाग्नु समाज पितृसत्ता भएकोले हो भन्ने कुरालाई मान्यता राख्दछ किनभने समाजमा मानिसले नै परिमार्जित गरेका समाजिक परम्परा रितिरिवाज चालचलन, धार्मिक आदि कुराहरू पुरूषको बाहुल्यता रहेको हुन्छ।
त्यसैले त्यो शिक्षा र सोचले यस्तो भएको हो भनेर कुनै पनि जे जति घटना हुन्छ सबै पुरूषकै कारणले गर्दा हुन्छ र सबै महिला निर्दोष हुन्छन् भन्ने मान्यता राख्दछ र कानुनले चाहिँ दुवैलाई समान रूपले सत्यतथ्य प्रमाणको आधारमा हेर्छ।
नेपालको कानुन विश्वकै कानुनलाई समेत अनुसरण गर्दै नेपालको वातावरण र परिवेसलाई मध्यनजर गरेर बनाइएको हुन्छ जुन वैधानिक र राम्रो मानिन्छ।
अब रह्यो कुरो वर्तमान समयमा नेपालको एक नायक र गायिकाको मुद्दा। महिलावादी महिलाहरूले कुनै हालतमा गायिका दोषी नभएको मान्यता राख्दछ भने कानुनले दुवैलाई सत्य तथ्य प्रमाणको आधारमा को दोषी, निर्दोषी छुट्याउने गर्दछ।
बिना प्रमाण को दोषी को निर्दोषी भन्ने छुट्याउँदैन र प्रमाण आएर दोषी भइसकेपछि पनि पीडक पीडित दुवैको चरित्र हत्या गर्ने कार्यलाई कानुनअनुसार राम्रो मानिँदैन।
पीडित भनिने गायिकाप्रति विभिन्न प्रश्नहरू उठाइएको छ भने पीडकलाई दोषी भए पनि सफाइ पाउनु पर्छ भनेर आवाज उठाइरहेको पाइन्छ। त्यसैले यसमा महिलावादीहरूले यस्तो किसिमको लैङ्गिक विभिद हुनु पितृसत्ता समाजको उपज हो भन्ने मान्यता राख्दछ।
पुरूष दोषी भए पनि महिलालाई मात्र दोषी देखाएर बचाउन खोज्ने र महिला निर्दोष भए पनि उल्टो समाजमा महिलालाई चरित्र हत्या गरेर मर्न बाध्य तुल्याउने समाज सही होइनन्।
कानुनभन्दा माथि कोही हुन्न। अन्याय गरेको खण्डमा प्रमाणको आधारमा कानुनले सबैलाई सजाय दिन्छ। निर्मला पन्त, भागिरथीको बलात्कार काण्डलाई दुई खुट्टा काटिएको मान्छेको अवस्था र ती गायिकाको काण्डलाई एउटा हात काटिएको अवस्थासँग तुलना गर्न सकिन्छ।
यस्तोमा दुबैलाई घाउको दुखाई हुन्छ मात्र फरक धेरै र थोरैको कुरा हो भन्ने मान्यता पाइन्छ। निर्मला पन्तका अपराधीहरू पत्ता लगाउन नसक्नुमा कारणहरूमा ठोस प्रमाणहरू फेला पार्न नसक्नु हो, जुन कमजोरी हो।
नायक र गायिकाबीच भएको शारीरिक सम्बन्ध बलात्कार भनेर घोषणा गर्न पाइँदैन भन्ने आवाज उठाइरहेकाहरूले पनि कानुनमा विश्वास राख्नु पर्छ।
प्रमाणका आधारमा न्याय दिने निकायले फैसला गर्छ नै। तर त्यसअघि आफ्नो मन परेको मान्छे वा चर्चित भएकैले आपराधिक क्रियाकलापलाई सहज रुपमा लिएर सामान्यीकरण गरिनु हुँदैन।
दोषी भए सजाय हुन्छ, नभए निर्दोष प्रमाणित होलान्, यसमा कसैले पनि फैसला आफ्नो पक्षमा होस् भनेर दबाव दिने प्रयास गर्नु निरर्थक हो।