चितवन । जाडो मौसम सुरु भएसँगै आहाराको खोजी र चिसो छल्न हिमाली तथा पहाडी क्षेत्रबाट चराहरू तराई झर्न थालेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका नदी तथा तालतलैयामा स्वदेशी र विदेशी पाहुना चराहरू देखिन थालेका हुन्।
जाडो छल्न हाँस प्रजातिका चरासँगै बाज, चिललगायतका चरा चितवन आइपुगेका छन्। नारायणी, राप्ती नदी तथा रिउ खोलाका किनारमा यस्ता चराहरू देखिन थालेको पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक बासु बिडारीले जानकारी दिएका छन्।उनका अनुसार नेपालबाहिरबाट आएका १२ देखि १५ प्रजातिका हाँस चितवनका नदी क्षेत्रमा देखिन थालेका छन्। केही प्रजातिका चरा आइसकेका छन् भने केही अझै आउने क्रममा छन्।
विदेशबाट मात्र नभई नेपालको पहाडी क्षेत्रबाट समेत चिसो छल्न चरा चितवन झर्ने गरेका छन्। जाडो मौसमसँगै सुरु भएको चराहरूको आगमनले चितवनका नदी तथा सिमसार क्षेत्रलाई थप चहलपहलपूर्ण बनाएको छ।