धरान । लागुऔषध दुर्व्यसनमा फसेका महिलालाई उपचार, सुधार र पुनःस्थापनाको अवसर प्रदान गर्ने उद्देश्यले धरानमा महिला सुधार केन्द्रको भवन निर्माण सुरु हुने भएको छ।
धरान उपमहानगरपालिका–६ पानवारीस्थित आसरा सुधार केन्द्र परिसरमा निर्माण हुने तीनतले भवनको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले शिलान्यास गरेका छन्।भवन निर्माण सम्पन्न भएपछि एकैपटक ५० जना महिलालाई आवासीय उपचार तथा पुनःस्थापना सेवा उपलब्ध गराउन सकिनेछ। उक्त भवन निर्माणका लागि ३ करोड ९ लाख २६ हजार ३०० रुपैयाँ लागत अनुमान गरिएको छ।
आसरा सुधार केन्द्र पानवारी धरानकी प्रथम उपाध्यक्ष शिला बज्राचार्यका अनुसार केन्द्रको आन्तरिक स्रोत, आजीवन सदस्य, देशविदेशमा रहेका सहयोगी तथा दाताहरूको आर्थिक सहयोगमा निर्माण कार्य अघि बढाउन लागिएको हो।महिलाका लागि छुट्टै सुधार केन्द्रको आवश्यकता महसुस भएपछि सवा २८ धुर जग्गा खरिद गरेर भवन निर्माणको योजना अघि बढाइएको उनले बताइन्।
यो पहलले दुर्व्यसनको समस्यासँग जुधिरहेका महिलालाई उपचार, संरक्षण र सम्मानजनक जीवनमा फर्किने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।