धादिङ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न कांग्रेस आतुर रहेको बताएका छन्। उनले सरकारले स्थानीय निर्वाचन समयमै गराउनुपर्नेमा जोड दिएका छन्।

बिहीबार धादिङबेसीमा नेपाल प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा पछि सार्न नहुने बताएका हुन्।

उनले स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने र पालिकाको सङ्ख्या घटाउने विषय उठे पनि सरकारले त्यसका लागि आवश्यक कानुनी तथा राजनीतिक प्रक्रिया अघि नबढाएको भन्दै असन्तुष्टि जनाए।

निर्वाचनबारेको अन्योलले चुनाव अनिश्चित बन्न सक्ने आशंका व्यक्त गर्दै उनले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने बताए।

पौडेलले कानुनी व्यवस्था मिल्ने अवस्थामा स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिने धारणा पनि राखे। त्यसो गर्दा निर्वाचन खर्च कम हुने उनको भनाइ छ।

स्थानीय निर्वाचनलाई लिएर राजनीतिक बहस चलिरहेका बेला कांग्रेस महामन्त्रीको यो अभिव्यक्तिले चुनावी तयारी र प्रतिस्पर्धाबारे थप चासो बढाएको छ।
7
Shares
११ मंसिर २०८३, बिहीबार १४:४७