इन्डोनेसिया । इन्डोनेसियाको जाभा टापुस्थित अवैध रूपमा सञ्चालित सुन खानीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ। घटनामा अन्य १३ जना कामदार अझै बेपत्ता छन्।

सोमबार परेको भारी वर्षापछि नजिकैको नदीमा आएको बाढी खानीभित्र पसेको थियो। बाढीका कारण खानीमा काम गरिरहेका मजदुरहरू सुरुङभित्रै फसेका थिए।

स्थानीय खोज तथा उद्धार प्रमुख देसियाना कार्तिका बहारीका अनुसार बिहीबार बिहानसम्म १३ जनाको शव फेला परेको छ भने बेपत्ता कामदारको खोजी जारी छ।

करिब १०० मिटर गहिरा साँघुरा खाल्डा, पर्याप्त उज्यालोको अभाव र चिप्लो भूभागका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। उद्धारकर्मीको सुरक्षालाई प्राथमिकतामा राखेर खोजी भइरहेको अधिकारीहरूले बताएका छन्।

पश्चिम जाभा प्रहरीका प्रवक्ता हेन्द्रा रोच्मावानका अनुसार बाढीले सुरुङ डुबाउनुअघि ११ जना कामदार भने सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए।

इन्डोनेसियामा अनुमति नलिई सञ्चालन हुने खानीमा सुरक्षा मापदण्डको पालना नहुँदा यस्ता दुर्घटनाको जोखिम रहँदै आएको छ।

14
Shares
११ मंसिर २०८३, बिहीबार १४:१५