काठमाडौं । पुरुष क्रिकेटमा कर्णालीले सुदूरपश्चिमलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य कर्णालीले १३.३ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो।
कर्णालीको जितका नायक बने विपिन रावल। उनले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ६० रन बनाए। पहिलो बलमै ओपनर दिनेश रावत आउट भएपछि दबाबमा परेको कर्णालीको इनिङ्स विपिनले सम्हालेका थिए।त्यस्तै, दिनेश अधिकारीले १५ तथा मनिष थापा र कप्तान रविन्द्रजंग शाहीले समान १३ रनको योगदान दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। उसका अभिषेक पालले २८ र दीपक बोहराले १८ रन बनाए।बलिङतर्फ कर्णालीका दिवान पुन, राजकुमार साह र दिनेश अधिकारीले समान २ विकेट लिए।
प्रतियोगिताका अन्य विधामा अपेक्षित नतिजा निकाल्न नसकेको कर्णालीका लागि पुरुष क्रिकेटको यो जितले घरेलु मैदानमा उत्साह थपेको छ।