मुम्बई । कुनै समय लोकप्रिय टेलिभिजन धारावाहिक ‘सीआईडी’मा इन्स्पेक्टर विवेक बनेर लाखौँ दर्शकको मन जितेका अभिनेता विवेक मश्रुले अहिले आफ्नो जीवनको बाटो नै परिवर्तन गरेका छन्।

करिब ६ वर्षसम्म ‘सीआईडी’मा अभिनय गरेका उनले झन्डै ५०० भागमा इन्स्पेक्टर विवेकको भूमिका निर्वाह गरे। तर, लोकप्रियताको शिखरमा रहँदै उनले अभिनय क्षेत्रबाट दूरी बनाएर उच्च शिक्षा र व्यावसायिक यात्रालाई प्राथमिकता दिए।

सुटिङका क्रममा दैनिक १६ देखि १८ घण्टासम्म व्यस्त रहने मश्रुले अहिले बेङ्गलुरुमा शिक्षा क्षेत्रसँगै व्यापार रणनीतिमा आफ्नो सक्रियता बढाएका छन्।

सन् २०२३ मा उनको पुरानो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनी फेरि चर्चामा आएका थिए। उनलाई बाल्यकालदेखि पर्दामा देख्दै हुर्किएका दर्शकले उनको नयाँ यात्राबारे थाहा पाएपछि आश्चर्य व्यक्त गरेका थिए।

‘अपरेसन तलास’ नामक प्रतिभा खोजी अभियानमार्फत ‘सीआईडी’मा प्रवेश गरेका मश्रुले सुरुमा तीन महिनाको सम्झौता गरेका थिए। तर दर्शकमाझ उनको लोकप्रियता बढ्दै गएपछि उनको अभिनय यात्रा करिब ६ वर्षसम्म लम्बिएको थियो।

लोकप्रियता र चमकधमकभन्दा फरक बाटो रोजेका विवेक मश्रुको यात्राले सफलता हासिल गर्ने बाटो एउटै हुँदैन भन्ने सन्देश दिएको छ।
28
Shares
११ मंसिर २०८३, बिहीबार १२:२४