काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आइतबारदेखि देशका सातै प्रदेशमा नीति तथा नेतृत्वसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पार्टीको संगठन सुदृढीकरण, नीतिगत विषयमा स्पष्टता तथा नेतृत्व विकासलाई केन्द्रमा राखेर प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो।रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार कार्यक्रमको खाका तयार भइसकेको छ भने शनिबारसम्म आवश्यक तयारी पूरा गरिनेछ।
सातै प्रदेशमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा पार्टीको केन्द्रीय नेतृत्वसमेत सहभागी हुने उनले जानकारी दिएका छन्।पार्टी संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन हुन लागेको यस कार्यक्रमलाई रास्वपाले प्रदेशस्तरमा संगठनात्मक क्षमता अभिवृद्धिको अवसरका रूपमा अघि बढाएको छ।