नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र आदानप्रदान भएको छ।

सोमबार नयाँदिल्लीमा दुई देशबीच अन्तरिक्ष तथा भूउपग्रह प्रविधि, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य तथा चिकित्सा, दिगो सहरी विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, पशुपालन तथा मत्स्य विकास, फरेन्सिक विज्ञान र प्रहरी प्रशिक्षणका क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र आदानप्रदान गरिएको हो।

समझदारीअनुसार दक्षिण एसियाली भूउपग्रहमा आधारित सञ्चार सञ्जाल स्थापना, नेपाली निजामती कर्मचारीलाई तालिम तथा क्षमता विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य र सहरी विकासका लागि प्राविधिक सहयोग आदानप्रदान गर्ने विषय समेटिएका छन्।

त्यस्तै, आयुर्वेद तथा परम्परागत उपचार पद्धति, पशुपालन र मत्स्य विकास, अपराध अनुसन्धानमा फरेन्सिक विज्ञानको प्रयोग तथा प्रहरीको शैक्षिक र व्यावसायिक प्रशिक्षणमा समेत दुई देशबीच सहकार्य अघि बढाउने समझदारी भएको छ।

यी समझदारीले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्दै विभिन्न क्षेत्रमा ज्ञान, सीप, प्रविधि र अनुभव आदानप्रदानका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ। यसको वास्तविक उपलब्धि भने कार्यान्वयन र सहकार्यको प्रभावकारितामा निर्भर हुनेछ।

नेपाल–भारत सहकार्यका आठ क्षेत्र:

  1. भूउपग्रहमा आधारित सञ्चार सञ्जाल स्थापना।

  2. निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम।

  3. स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य।

  4. दिगो सहरी विकासमा प्राविधिक सहकार्य।

  5. आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिमा सहकार्य।

  6. पशुपालन तथा मत्स्य विकासमा सहकार्य।

  7. फरेन्सिक विज्ञानमा अध्ययन तथा अनुसन्धान।

  8. प्रहरी प्रशिक्षणमा शैक्षिक तथा तालिम सहकार्य।

14
Shares
८ मंसिर २०८३, सोमबार १५:४८