काठमाडौं । डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले १०बुँदे माग अघि सार्दै सोमबारदेखि नेपाल स्वास्थ्य व्यवसायी परिषदमा धर्ना तथा रिले अनशन सुरु गरेको छ।

एसोसिएसनको केन्द्रीय कार्यसमिति, धुम्बाराहीले ‘हाम्रो पेशाको सम्मान गरौँ’ भन्ने नारासहित परिषद्को कामकारबाहीमा पारदर्शिता, निष्पक्षता र पेसागत हकहितको सुनिश्चितता माग गर्दै आन्दोलन थालेको जनाएको छ।

एसोसिएसनले अघि सारेका मागमा स्वार्थको द्वन्द्व (Conflict of Interest) हुने व्यक्तिलाई निर्णय प्रक्रियामा सहभागी नगराउनुपर्ने, परिषदमा दर्ता भएका डेन्टल साइन्स हाइजेनिस्ट प्रोफेसनल तथा सम्बन्धित पेसागत संघ–संस्थाको कानुनबमोजिम उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायतका विषय समावेश छन्।

त्यस्तै, डेन्टल समुदायको छुट्टै संरचना निर्माण हुने गरी परिषद्को नियमावली संशोधन गर्नुपर्ने माग पनि एसोसिएसनले अघि सारेको छ। परिषद्को कार्यप्रणालीलाई पारदर्शी र निष्पक्ष बनाउँदै डेन्टल साइन्स हाइजेनिस्टहरूको पेसागत अधिकार तथा संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ।

१०बुँदे माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले धर्ना तथा रिले अनशन सुरु गरिएको एसोसिएसनले जनाएको छ। आन्दोलनका मागबारे परिषदको प्रतिक्रिया तथा आगामी वार्ताको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
7
Shares
८ मंसिर २०८३, सोमबार १३:४५